काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौला निर्मित ‘छक्का पञ्जा ४’ आगामी १९ फागुनमा रिलिज हुँदैछ । यो चलचित्रको प्रदर्शन नजिकिँदै गर्दा पहिलो गीत ‘दर्शन सलाम’ सोमबार रिलिज गरिएको छ । यो गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर रहेको छ । यो गीतलाई राजेन्द्र थापाले लेखेका हुन् । जसमा संगीतकार दीपक शर्माको संगीत रहेको छ । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

‘दर्शन सलाम’ गीतलाई स्तरीय बनाउन अडियो र भिडियोमा मिहिनेत गरिएको छ । गीतको भिडियोमा सुरुमा दीपकराज गिरीको चुनावमा भोट माग्दै गरेको नेताको रुपमा उनको स्टाचु राखिएको छ । पछि उनी दीपाको जोडी बनेर प्रस्तुत भएका छन् ।

यो गीतको भिडियोमा छक्का पञ्जा ४ का मुख्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य, स्वस्तिमा खड्काले नृत्य गरेकी छिन् । यो गीतको भिडियो चलचित्र छक्का पञ्जा ४ राजनीतिक पृष्ठभूमिका बनेको चलचित्र हो भन्ने दर्शाउँछ ।

यस अघि छक्का पञ्जा ३ बाट करिब २० करोडको व्यापार गर्न सफल दीपक दिपा यो चलचित्रबाट त्यो व्यवसायिक रेकर्ड तोड्ने पक्षमा छन् । तर सोही दिन अर्को कलाकार अनमोल केसीको चलचित्र ‘०.२ छड्के’ रिलिज हुने भएकाले यी दुई चलचित्र जुध्दा व्यापारमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

यो चलचित्रमा दीपकराज गिरीको निर्माणसँगै पटकथा र सम्बाद रहेको छ । यसमा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ । छक्का पञ्जाका तीन वटै सृँखलाको निर्देशन दीपाश्री निरौलाले गरेको भए पनि छक्का पञ्जा ४ को निर्देशन हेमराज विसीले गरेका छन् ।