काठमाडौँ। मोरङको बुढीगंगामा बिजुलीको हाइटेन्सन लाइनको खम्बा (पोल) मा चढेका एक पुरुष ११ घण्टापछि ओर्लिएका छन् । सडक किनारमा टेवा पर्खाल निर्माणमा रोक लगाउन माग राखेका बुढीगंगा गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेश माझी शनिबार बिहान साढे ६ बजे १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको खम्बामा चढेका थिए ।

उनी अपराह्न साढे ४ बजे ओर्लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए । खम्बामा चढेका व्यक्तिले गाउँपालिका अध्यक्ष जितनारायण थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार आएर काम रोक्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका थिए । अध्यक्ष थापा मगरले उनी पोलमा चढेको ठाउँमा पुगेर उनको माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि माझी खम्बाबाट तल झरेका डिएसपी दाहालले बताए ।

सडक छेउमा निर्माण भइरहेको टेवा पर्खालको गुणस्तर राम्रो नभएको भन्दै माझीले रोक्न माग गरेका थिए ।

राजधानी दैनिक बाट