दार्चुला हिमपहिरो : जीवनबुटी खोज्दा भोलुम डाँडामा बिलायो जीवन

दार्चुला । जिल्लाको व्याँस गाउँपालिका–१ छाङरुस्थित गाँगाबगरबाट केही मिनेट तल झर्दा नाम्पा खोला भेटिन्छ । त्यो खोला पार गरेपछि लाग्छ ठाडैडाँडा । हिमाल फेदको भोलिन डाँडा । घामले टल्किरहेको थियो । सिमसिम पानी पनि परिरहेको थियो ।

त्यहीँ डाँडामा मंगलबार त्रासदीपूर्ण हिमपहिरोमा परी यार्सा संकलनका लागि गएका पाँच जना बिलाए । तीमध्ये तीन जनाको शव बुधबार भेटिएको छ । अक्करे भिरमा अड्किएका अवस्थामा ती शव भेटिए । दुई जनाको भेटिएनन् ।

बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका–४ धारीका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिकाकी ४५ वर्षीय नक्की डोल्मा थापाको शव भेट्टाएका थिए ।

दुहुँका १८ वर्षीय प्रवीण कुँवरले यस वर्ष एसइई परीक्षा दिएका थिए । परीक्षापछि फुर्सदिला बनेका उनी आमा कमलासँग यार्सा टिप्न गए । आर्थिक अवस्था कमजोर भएका उनीहरू यार्साबाट घर खर्च चलाउने गर्थे । आमा, छोरा दुवै जनाले हिमपहिरोमा ज्यान गुमाए । प्रवीणका बुबा रोजगारीको शिलशिलामा विदेशमा छन् ।

‘हिमपहिरोको घटनाले गाउँ शोकमा डुबेको छ,’ दुहुँ गाउँपालिका–४ का अध्यक्ष कृष्णसिंह लोथ्यालले भने, ‘आमा छोराले नै घटनामा ज्यान गुमाए ।’ बेपत्ता पाँच जनामध्ये तीन जनाको शव घटनास्थलबाट अढाइ किलोमिटर तल भिरमा भेटिएको हो ।

डाँडा तल सानो ओढारमा हिमपहिरोबाट जोगिएका केही मानिस बुधबार आगो तापेर बसेका थिए । शव कुरेर बसेका थिए्, उनीहरू । उनीहरूले बेपत्ता सकुशल मिल्ने आशा मारिसकेका छन् । त्यही बीचमा थिए डोटीको जोरायल गाउँपालिका–२ बुडरका फुर्बा थापा । उनकी आमा नक्नी डोल्माको बुधबार शव भेटिएको हो ।

फुर्बा केही दिनअघि मात्रै आमासँग यार्सा टिप्न त्यहाँ पुगेका थिए । ‘आमा र अरु केही त्रिपालमुनि बसिरहेका थिए, हामी खाना पकाउनका लागि दाउरा लिन गएका थियौँ’, फुर्बाले भने, ‘एक्कासि माथिबाट आएको पहिरोले सबै लग्यो ।’ सँगै यार्सा टिप्न गएका फुर्बा आमा पहिरोमा बिलाएपछि विक्षिप्त छन् । बर्सेनि यार्सा टिप्न जाने उनीहरू यसबाट घरखर्च चलाउँथे । फुर्बाको घरमा छोरी छन् ।

ज्यान गुमाएका तीनै जनाको शव बिहीबार भारतीय सडक मार्ग प्रयोग गरी सदरमुकाम खलंगा ल्याइएको छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक भएर ल्याइएको सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायव उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए ।

हिमपहिरोमा परी अझै दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा डोटीको जोरायलका २८ वर्षीया ईश्वरी थापा र ठाउँकी १५ वर्षीया क्षिमिसोमो थापा छिन् । उनीहरू एक साताअघि मात्रै यार्सागुम्बा संकलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले मंगलबारदेखि ‘रेस्क्यू अप्रेसन’ चलाएको छ । तर, खोजीमा हिमपात र वर्षा बाधक बनेका छन् ।

भोलिन डाँडाको पहिरो गएको क्षेत्रमा यार्सा संकलन गर्ने २४÷२५ जनाको समूह थियो । तीमध्ये १९ जना बाँचेका छन् । कोही ओढारमा बसेकाले बाँचे, कोही दाउरा खोज्न गएकाले हिमपहिरोबाट बाच्न पुगे । १३ जना यार्सा संकलक मंगलबार मात्रै भोलिन डाँडा क्षेत्रमा पुगेका थिए ।

त्रिपालमुनि बसेका सात जनामध्ये दुई जनाले भागेर ज्यान जोगाए । पाँच जना भाग्न नसक्दा पहिरोमा पुरिए । ४ जना भने हिमपहिरो गएका बेला दाउरा संकलन गर्न गएकाले बाँच्न पुगे ।

भोलिन डाँडा क्षेत्रमा ४ फिटभन्दा बढी हिउँ परेको छ । हिमपहिरो माथिबाट ५÷६ किलोमिटर तल नाम्पा खोलासम्म पुगेको छ । अहिले पनि लगातार हिमपात भइरहेको छ । कठ्याग्रिँदो चिसो छ ।

त्यहीँबीच बुधबार पनि मृतकमध्ये अधिकांसका परिवारका सदस्य त्यहीं बसे । डाँडा तल सानो ओढारमा हिमपहिरोबाट जोगिएका केही मानिस दिनभर आगो तापेर बसेका थिए । उनीहरू बेपत्ताका आफन्त हुन् ।

अहिले उनीहरू सबैलाई सशस्त्र प्रहरीले सुरक्षित स्थानमा लगेको छ । हाल सो क्षेत्रमा यार्सागुम्बा संकलकलाई जान सशस्त्र प्रहरीले रोक लगाएको छ । सो क्षेत्रमा दार्चुला र अन्य जिल्लाबाट सयौं सर्वसाधारण यार्सागुम्बा संकलनका लागि गएका थिए । जेठ अन्तिम सातासम्म बर्सेनि यार्सागुम्बा संकलन गरिन्छ ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *