संघाराम विहारमा करोडौं भ्रष्टाचार

काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित स्थापना भएको सो विहारमा अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको हो ।

विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो । चन्दादाता र आस्थावान् उपासकको धार्मिक आस्था राख्नेहरूले दिएको रकमसमेत भिक्षुले हिनामिना गरेको भेटिएको हो ।

– विहारको नाममा एउटै शीर्षकमा महानगरपालिका, सहरी विकास तथा भवन निर्माण र राष्ट्रिय पुनर्निर्माणबाट रकम निकासा

– विहारको उपासक-उपासिका र आस्थावान धर्मालम्बीबाट उठाएको १ करोड अनियमितता

– विहारको नामको पैसा अध्यक्ष र कोषध्यक्षको व्यक्तिगत खातामा

सहरी विकास तथा भवन निर्माण विभागबाट आएको ५६ लाख रुपैयाँ नक्कली खाता सञ्चालन गरेर राखेको र नक्कली लेखा परीक्षण गरेको समेत भेटिएको छ । साथै पुनः निर्माण प्राधिकरणबाट आएको २२ लाख ९५ हजार १ सय ११ रुपैयाँको हिसाबकिताब मिलान गर्न नसकेको र महानगरपालिकाले पहिलो किस्तावापत् दिएको २४ लाख ४९ हजार ५ सय १० रुपैयाँ भुक्तानी भइसकेको छ । जसमध्ये १४ लाख रुपैयाँको हिसाबकिताब मिलान हुन सकेको छैन । भवन निर्माणको नाममा नक्कली बैंक खाता र नक्कली लेखापरीक्षण बनाएर हिनामिना गर्ने गरेको भेटिएको हो ।

महानगरपालिकाले विहारको जीर्णोद्वार उपभोक्ता समितिबाट गर्नेगरी सहमति भएकोमा संघाराम विहारका अध्यक्ष उपतिस्स महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सको मिलेमतोमा नक्कली ठेक्कदारलाई बोलकबोल नगरी दिएको पाइएको छ । सो विहारको ठेक्का बी एन्ड स्टिल हार्डवेयरलाई दिएको भेटिएको छ । स्टिल कम्पनीको नाममा नक्कली ठेकेदार मुकुन्द ओस्ती बनाएर पुनर्निर्माणको काम दिइएको हो । विहारमा भएको अनियमितताको विषयमा अध्यक्ष भिक्षु उपतिस्स महास्थवीरले आफूले मात्रै नभई २०६६÷६७ मा १३ लाख ९९ हजार ९६ रुपैयाँ हिनामिना हुँदा त्यतिबेला आफू अध्यक्ष नरहेको बताए । बोरु अहिलेको हिनामिना भएको भए आफू सजायको भागिदार हुन तयार हुने उनको भनाइ छ । त्यतिबेलाको कोषाध्यक्षमा सद्दातिस्स थिए ।

उनी अहिले पनि कोषाध्यक्षकै हैसियतमा छन् । भवन निर्माण अलपत्र परिरहेको छ । ‘पहिलाको रकम हिनामिना देखाएर महानगरपालिकाले अहिले रकम रोक्न कसरी पाउँछ र ? उनले भने, ‘आर्थिक पाटो पल्टाउनेभन्दा पनि भवन निर्माण भएको छ कि छैन भनेर हेरिनुपर्छ ।’ महानगरले पहिला किस्ताको रकम दिए पनि भवन निर्माणमा अनियमितता भएको भन्दै कसैले उजुरी दिएकाले अहिले दोस्रो किस्ता रकम रोकिएको भिक्षु उपतिस्सले बताए ।

संघाराम विहारको पुनर्निर्माणका लागि महानगरपालिकाले पहिलो किस्ता भुक्तानी गरे पनि भिक्षुले अनियमितता गरेको भेटिएपछि दोस्रो किस्ताको रकम रोकिएको छ । दुई पक्षीय सम्झौताअनुसार उपभोक्ता समितिबाटै जीर्णोद्वार गर्नुपर्ने उल्लेख छ । ठेकेदार कम्पनीलाई दिएको भेटिए सबै रकम फिर्ता गर्नुपर्ने सर्त महानगरपालिकाले राखेको छ । भवन निर्माणमा अनियमितता देखिएपछि महानगरपालिकाले पनि छानबिन गर्ने तयारी गरिरहेको जनाएको छ ।

भिक्षुहरूले भवन निर्माणका लागि भन्दै चन्दादाता, बौद्ध धर्ममा आस्थावान् उपासक र उपासिकासँग १ करोड रुपैयाँ चन्दा उठाएका थिए । सो रकम कहाँ कसरी खर्च भयो भन्ने उल्लेख गर्न नसकेको लेखा परीक्षणमै उल्लेख छ । उनीहरूबाट उठाएको रकम हिनामिना भएपछि आस्थावान् उपासकले सो विहारको अध्यक्ष र कोषाध्यक्षको भूमिकामाथि प्रश्न उठाउन थालेका छन् ।

त्यस्तै, संघाराम विहारको घरबहाल कोषाध्यक्ष सद्दातिस्सले २२ वर्षदेखि आफ्नै खातामा राखेर चलाउँदै आएका छन् । विहारको नाममा रहेको बाहिरको भवनको भाडा मासिक १ लाख ५० हजार उठाउने गरेका छन् । विहारको क्षेत्रपाटीमा रहेको नेपाल बैंकको संस्थामा रहेको खाता शून्य छ भने कोषाध्यक्ष र अध्यक्षले हालसम्म मासिक भाडा आफ्नै खातामा राखेर प्रयोग गर्दै आइरहेका छन् ।

अध्यक्षले बहालबाट उठेको १९ लाख रुपैयाँ आफ्नै खातामा राखेका छन् । संस्थाको नाममा रहेका मिलन सहकारीको ५ लाख रुपैयाँ हिसाबकिताब अध्यक्षले आफैंले खर्च गरेको समेत भेटिएको छ । हालसम्म संघाराम विहारले मर्मतसम्भारको नाममा पैसा खर्च भएको भन्दै आयकार समेत छलिरहेको भेटिएको छ ।

भिक्षुसँग मिलेर सञ्चालक वीरेन्द्रले संस्थाको रकम ४ लाख खाए

संघाराम विहारका सञ्चालक सदस्य वीरेन्द्रले सोझा भिक्षुको व्यक्तिगत खातामा रहेको रकमसमेत उनीहरूलाई थाहै नदिई निकालेर आफैंले प्रयोग गरेको भेटिएको छ । भिक्षु अश्वघोष र भिक्षु आनन्दले स्थानीय समाजसेवी धर्मदासको नाममा पाको, नयाँसडकस्थित मिलन सहकारी संस्थामा मुद्दती खाता खोली ४ लाख ६० हजार रुपैयाँ राखेका थिए ।

वीरेन्द्रले विहारको लेटरप्याड र छाप प्रयोग गरेर सो रकम हिनामिना गरेका हुन् । अर्कै भिक्षु अध्यक्ष र आफैं कोषाध्यक्ष बनेको निर्णय लेटरप्याडमा लेखी जिल्ला प्रशासन कार्यालयमा पत्र बुझाएको विवरण तयार पारेर । लगत्तै सहकारीका नाममा ऐनबमोजिम आवश्यक कारबाही गर्नुहुन भनी सीडीओ कार्यालयको पत्र पनि तयार पारे । दुईथरि पत्र आफैं सहकारीमा गएर बुझाएर सो रकम आफ्नो हात पारेका पाइएको छ ।

सहकारीका निर्देशकले भिक्षुको नामको खाता वीरेन्द्रसहितका नाममा सारेपछि उनले ४ लाख ६० हजार साँवा र १ लाखभन्दा बढी ब्याज निकालेका थिए । भिक्षुहरूले पुनः मुद्दती खाता नवीकरण गर्न जाँदा सो रकम वीरेन्द्रले निकालेको तथ्य भेटिएको हो ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *