बारा–२ मा पराजितको प्रतिस्पर्धा

काठमाडौं । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बारा २ मा सोमबार ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । विभिन्न राजनीतिक दलका १२ र स्वतन्त्रतर्फ २४ गरी ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ३६ जना उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा विभिन्न क्षेत्रमा ४ मंसिरको निर्वाचनमा पराजित नेताकै बीचमा हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजराज चौधरीका अनुसार ३६ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

बारा २ बाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । राजनीतिक दलका नेता एवं स्वतन्त्र उम्मेदवार दलबलका साथ कलैयामा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कोही घण्टी बजाउँदै त कोही बाजागाजा, घोडासहित उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिरको निर्वाचनमा यादव जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग सप्तरी–२ मा पराजित भएका थिए । डा. राउतसँग झन्डै १८ हजारभन्दा बढी मतान्तरले पराजित यादवको प्रतिस्पर्धा अर्का हरुवा नेता शिवचन्द्र कुशवाहासँग हुँदै छ ।

४ मंसिरको आमनिर्वाचनमा बारा–२ मा रामसहायसंग ३५४ मतले पराजित कुशवाहा यो निर्वाचनमा जनमत पार्टीका तर्फबाट उम्मेदवार बनेका छन् । यसअघि कुशवाहा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवार भएका थिए ।

माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चाको समर्थन गतनिर्वाचनमा कुशवाहालाई रहेको थियो । यस्तै रामसहायलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले समर्थन गरेको थियो ।

तर, अहिले गठबन्धन बदलिएको छ । १० वैशाखमा हुने निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्रलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपाले समर्थन गरेको छ । कुशवाहालाई कुनै पनि दलले समर्थन गरेको छैन । यद्यपि, उनी समर्थन जुटाउने प्रयास भने जारी नै राखेका छन् । विभिन्न दलका असन्तुष्ट नेताको मत तान्ने प्रयासमा कुशावाहा रहेका छन् । जसपा अध्यक्ष यादव गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवलाई पार्टीमा प्रवेश गराउँदै सत्तारूढ गठबन्धनको पुरै मत लिएर संसदमा प्रवेश गर्ने रणनीतिमा छन् । रामकिशोर गत निर्वाचनमा ११ हजार ४३ मत ल्याएका थिए ।

यस्तै, बारामा उम्मेदवारी दर्ता गरेका अर्का पराजित उम्मेदवार हुन रमेश खरेल र अधिवक्ता अरुण ज्ञवाली । खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट र ज्ञवाली आमजनता पार्टी (आजपा)बाट उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेल गतशनिवार मात्रै रास्वपामा प्रवेश गरेका हुन् । काठमाडौं १ मा गत निर्वाचनमा पराजित भएका खरेललाई रास्वपाले उम्मेदवार बनाएको हो । काठमाडौं–१ मा उनी पाँचांै नम्बरमा सीमित हुन पुगेका थिए ।

४ मंसिरको निर्वाचनमा बारा–२ बाटै पराजित अधिवक्ता ज्ञवाली स्वतन्त्र उम्मेदवार थिए । ७ हजार ६९८ मत ल्याएका ज्ञवाली यो उपनिर्वाचनमा प्रभु साहले नेतृत्व गरेको आजपाबाट उम्मेदवारी दिएका छन् । कुशवाहा, ज्ञवाली बारा–२ कै स्थायी बासिन्दा हुन् भने यादव र खरेल अन्य जिल्लाका स्थायी बासिन्दा हुन् ।

एमालेबाट उम्मेदवारी दर्ता गराएका पुरुषोत्तम पौडेल पूर्वमन्त्री एवं पूर्वसांसद हुन् । एमाले पोलिटब्युरो सदस्य रहेका पौडेल २०७४, २०७९ को निर्वाचनमा उम्मेदवार हुन खोजे पनि पार्टीले टिकट दिएनन् । मधेसी बाहुल्यता रहेको क्षेत्रमा पहाडी नेतालाई उम्मेदवार बनाएको भन्दै एमालेकै नेता असन्तुष्ट छन् ।

गत निर्वाचनमै पराजित नेताहरू नै यहाँ उम्मेदवार भएपछि त्यसको आलोचना समेत भइरहेको छ । जनताले पाँच वर्षका लागि संसद प्रवेशमा रोक लगाएपछि उपनिर्वाचनबाट उनीहरू संसदमा प्रवेश गर्न खोजेका छन् । यद्यपि कानुनले आमनिर्वाचनमा पराजित उम्मेदवारलाई उपनिर्वाचनमा उम्मेदवार हुन पाउँदैनन् भन्ने कुनै रोक लगाएको छैन ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट डा.कमरुल्लाह अंसारी, नेपाल मजदुर किसान पार्टीबाट मुक्तिप्रसाद यादव, हाम्रो नेपाली पार्टीबाट चन्द्रप्रकाश सुवेदी र नेपाल संघीय समाजवादी पार्टीबाट नेजारुल अञ्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

स्वतन्त्रबाट बिनोदकुमार कर्ण, ध्रुपलाल हजरा, उमाकुमारी कुशवाहा, गिर्जा कुमारी, रीता देवी, जैसी राउत, दिनेशप्रसाद यादव, असर्फी राउत अहिर, बाबुराम प्रसाद कलवार, मुन्ना मंसुरी, धर्मवीर प्रसाद यादव, उमेशप्रसाद यादव, कुशेश्वर साह बनिया, छोटेलाल महतो कोइरी, जितेन्द्र प्रसाद यादव, दुर्गा प्रसाद कोइरी, वीरेन्द्रप्रसाद यादव, राधिका न्यौपाने साह कलवार, शम्भुप्रसाद तेली, वीरेन्द्र पण्डित, रामबालक महरा चमार रहेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *