अब सरकारले गति लिन्छ : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले पूर्णता पाएपछि नेपाली जनता र इतिहासमा नै नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन र समृद्धिका पक्षमा सरकारले कामको सुरुआत गरिसकेको र त्यसलाई अब थप गति दिने विश्वास दिलाए ।

“आज मन्त्रिपरिषद् बिस्तार भएपछि सरकारका कामले गति लिन्छ । यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु । केही ठूला आयोजना र राष्ट्रले गौरव गर्ने निर्णय गर्नेछु ।” प्रधानमन्त्रीले भने ।

सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारी अरूभन्दा इमान्दार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीलाई आग्रह गरे । जनतालाई सुशासनको अनुभूति दिलाउने काम कर्मचारीको भएकाले त्यसलाई इमान्दार भएर कर्तव्यपथमा अगाडि बढ्नसमेत आग्रह गरे ।

कर्मचारीको टे्ड युनियन चाहिन्छ कि चाहिँदैन भन्ने बहस भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले विगतको अनुभव र राजनीतिक परिवर्तनमा कर्मचारीले खेलेको भूमिकालाई आत्मसात् गर्दै त्यसलाई कायम राखेर जानुपर्छ भन्ने पक्षमा आफू रहेको बताए। कर्मचारीतन्त्रमा रहेको बेथिती र अराजकता अन्त्य गर्दै जनतालाई गुणस्तरीय सेवा दिनसमेत उहाँले आग्रह गरे ।

उनले सहमति नभए निर्वाचनका माध्यमबाट नेतृत्व चयन गर्न आग्रह गरे। उनले भने “समझदारीका साथ नीति, योजना र कार्यक्रम पारित गर्नुस् र नेतृत्व चयन गर्नुस् भन्ने मेरो आग्रह छ । नेतृत्वमा टिको लगाउने प्रथाले फाइदा गरेको छैन । स्वस्थ प्रतिस्पर्धा गर्दा केही फरक पर्दैन । लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन गर्दा राम्रो हुने देखियो ।”

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले ठूलो प्रयास र मेहनत गरेर, सरोकारवाला पक्षको धारणालाई समेत समेटेर सङ्घीय निजामती विधेयकलाई अन्तिम रुप दिइएको जानकारी दिए ।

राजधानी दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *