चिनियाँ नागरिकले नेपालीहरूलाई प्रयोग गरेर नेपालीहरूलाई नै अनलाइन व्यापारको नाममा ठगी गर्ने गरेको खुलेको छ। उनीहरूले सुरुमा ह्वाट्सएपमार्फत अनलाइन व्यापार गर्ने र त्यसबाट लगानीको ३० प्रतिशत नाफा निश्चित हुने भन्दै प्रलोभनमा पार्छन्।

त्यसपछि उनीहरूलाई ओभर स्टक नामको वेबसाइटमा युजर आइडी मार्फत व्यापार सिकाइन्छ। एसएसपी केसीका अनुसार उनीहरूले केहीदिन प्रशिक्षक नै राखेर व्यापारको जानकारी दिन्छ। पहिलो चरणमा १० हजारदेखि ५० हजारसम्म मात्र लगानी गर्न लगाइन्छ। त्यसपछि मात्र लगानी बढाउँदै जान्छन्।

त्यहाँ हरेक किसिमको उपभोग्य सामान बेच्न राखिन्छ। आफूले किनेको सामान अनलाइनमा नै विदेशमा बिक्री गरिन्छ। बिक्री गर्ने र किन्ने दुवै जना अनलाइनमा नै हुन्छ। बिक्री भने विदेशमा हुने जानकारी दिन्छ। सामान बिक्री भयो भएन? बिक्री भएको सामान सिपिङ गरेर कहाँ पुग्यो? उताबाट रकम आयो आएन? सबै अनलाइनबाट नै हेर्ने व्यवस्था हुन्छ।

तर यसरी सुरुमा मुनाफाको रकम पठाउने तर १० लाख रुपैयाँ भन्दा बढी लगानी भएपछि अनलाइनबाट नै कानुनी समस्या आएकाले बिक्री भएको सामानको मुनाफा नआउने भन्दै त्रास फैलाउने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ।

‘जब ठुलो लगानी हुन्छ। त्यसपछि प्रहरीले थाहा पायो, कानुनी समस्यामा फसिने भयो भन्दै त्रास फैलाएर रकम ठगी गर्ने गरेको देखिन्छ,’ एसएसपी केसीले भने।

उनीहरूले यसरी ठगी गर्ने चार वटा खाता फेला परेको थियो। एनआइसी एसिया बैंक रहेको चार वटा खाताबाट डेढ महिनामा १ करोड ६८ लाखको कारोबार भएको देखिन्छ।

प्रहरीको अनुसन्धानमा बैंक खाता पक्राउ परेका बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ, राजकुमार लामा, प्रयास भण्डारीको रहेको देखिन्छ। उनीहरूले आफ्नो खाताबाट पैसा निकालेर दिए बापत मासिक १० हजार रुपैयाँ पाउने गरेको देखिन्छ। यसरी खाताबाट पैसा निकाल्ने र जम्मा गरेर चिनियाँ नागरिकलाई दिने काम भने अर्जुन श्रेष्ठले गरेको एसएसपी केसी बताउँछन्। उनलाई रकमको ओसार पसार गर्न चिनियाँ नागरिकले स्कुटर समेत किनिदिएको देखिएको छ।

सो समुहले कोठामा नै बसेर अनलाइनबाट सामान बिक्री भएको, सिपिङ गरेको र रकम पठाएर झुकाउने काम गरेको देखिन्छ। जब ठुलो रकम लगानी भएपछि रकम होल्ड गरेर ठगी गर्ने गरेका थिए। उनीहरूले अन्य १० वटा एकाउन्ट समेत प्रयोग गरेको खुलेको छ। यी एकाउन्टमा १० करोड भन्दा बढी कारोबार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘२२ जना भन्दा बढीको रकम ठगिएको १० वटा एकाउन्टमा खुल्छ। पीडित आफैं पनि कारबाहीमा पर्ने डरले खुलेर उजुरी दिन नआउँदा थप अनुसन्धानमा जटिलता देखिएको छ,’ एसएसपी केसीले भने।

प्रहरीले चिनियाँ नागरिकलाई काठमाडौंको बुढानीलकण्ठ, गल्फुटार र चण्डोलबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका केही चिनियाँ नागरिक गैरकानुनी रुपमा नेपालमा बसोबास गरेको देखिएको छ। तीन जनाको राहदानी समेत प्रहरीले फेला पार्न सकेको छैन।