राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान मन्त्रीको हैसियतमा सरकारमा सहभागी हुने सम्भावना बढेर गएको छ । उनले गृह नभए पनि अरु कुनै मन्त्रालय पाए पनि आफू सरकारमा सहभागी हुने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् ।स्रोतका अनुसार उनले आजै उपप्रधानमन्त्रीका रुपमा आजै सपथ लिने तयारी छ । तर, अहिलेसम्म उनले कुन मन्त्रालय सम्हाल्ने भन्ने टुंगो लागिसकेको छैन । यसअघि गत शुक्रबार सर्वोच्च अदालतले उनले प्रयोग गरिरहेको नागरिकता अवैध भन्ने ठहर गरेपछि उनको सांसद, मन्त्री, पार्टी सभापतिलगायतका पदहरु गुमेको थियो । गत आइतबार नै उनले प्रक्रिया पुर्याएर नेपाली नागरिकता लिएका छन् । त्यसपछि फेरि पार्टी सभापति चयन भएका उनले योबीचमा बारम्बार आफूलाई गृह मन्त्रालय नै दिनु पर्ने अडान राखेका थिए । चितवनमा हुने उपनिर्वाचनमा जित निकालेर आउने दाबीसहित उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएका थिए । तर, प्रचण्डले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ आउनुअघि उनलाई गृहमन्त्री नियुक्त गर्न नसक्ने अडान लिएका थिए । लामिछानेले आफू सरकारमा भए आफूमाथि दोहोरो नागरिकता प्रयोग गरेको आरोपमा परेको उजुरीको समाधानका लागि सहज हुने भन्दै सरकारमा सहभागी हुनै पर्ने माग राख्दै आएका थिए । रविले गृहबाहेक अरु कुनै मन्त्रालयमा पनि आफू जान तयार रहेको बताएपछि प्रचण्डले गृह मन्त्रालय माओवादी केन्द्रसँगै राखेर रविलाई अर्को कुनै जिम्मेवारी दिन लागेका हुन् ।