काठमाडौँ । सरकारले इम्बोष्ड नम्बर प्लेटलाई नेपालीमा राख्ने कार्य योजना अघि बढाएको छ । सोमबार मन्त्रालयको कार्य प्रगति विवरण’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको समेत निर्देशनमा त्यस कामलाई सुरु गरिएको बताएका हुन् । नेपाली समाज र सरकारी निकायले धेरै पटक भनेपछि मन्त्रालयले सो कामलाई अघि बढाउने गरी कार्य योजना बनाएको उनले उल्लेख गरे।

उनले भने, ‘सवारी साधनहरूमा राखिने इम्बोष्ड नम्बर सरकारी तहमा पनि, नेपाली समाजमा पनि धेरै पटक नेपालीमा राख्नुपर्छ भनेर पनि बहस हुने गरेकै हो । प्रारम्भमा त्यस’boutमा प्रक्रिया अघि बढेको पनि हो। अहिले अङ्ग्रेजीमा छ। तर हाम्रो मन्त्रालयले अहिले प्रधानमन्त्री समेतको परामर्श र निर्देशनमा इम्बोष्ट नम्बर प्लेटलाई नेपालीमा पनि राख्ने कार्य योजना अगाडि बढाएको छ। त्यसका लागि सम्बन्धित एजेन्सीसँग पनि हामी छलफलको प्रक्रियामा छौँ । त्यो प्रक्रिया अघि बढाउने कार्य योजना बनाएर हामी त्यसलाई तीव्रता प्रदान गर्न गइरहेका छौँ।’

३ देखि ७ दिनभित्रमा सवारी लाइसेन्स
काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी चालक अनुमतिपत्र कम्तीमा ३ दिनदेखि ७ दिनभित्र छपाइ गरेर दिने व्यवस्था गर्न लागिएको बताएका छन् ।

अहिले दैनिक ६ देखि ७ हजार लाइसेन्स छाप्नुपर्ने भए पनि ४ हजार मात्रै छाप्ने मेसिन यातायात व्यवस्था विभागसँग भएकाले समस्या भएको मन्त्री श्रेष्ठले बताए । उनले भने, ‘दिनको २ हजार लाइसेन्स छाप्न नसकेर ब्याक लकमा बस्छ । अहिले ८ लाख ब्याक लक छ, ८ लाख ब्याक लकमा लाइसेन्स नछापी ७ दिनभित्रै लाइसेन्स दिन नसकिने अवस्था छ । समस्या सल्टाउन ७–८ महिना लाग्छ । त्यसपछि बढीमा ७ दिनभित्र नै लाइसेन्स दिने व्यवस्था हुन्छ ।’

उनले प्रिन्टिङ मेसिन किन्न टेन्डर भइसकेको त्यो मेसिन आएपछि ब्याक लक फुकाउने बताएका छन् । उनले यस्ता बाँकी लाइसेन्स छाप्न आउट सोर्स गर्न खोज्दा खरिद कानुन र विगतमा भएका निर्णयहरू बाधा बनेको बताए ।

राजधानी दैनिक बाट