काठमाडौं । निर्माणको समयमा गुणस्तरहीन काम गरेका कारण चक्रपथअन्तर्गत बल्खु–कलंकी सडक खण्डको सर्भिस लेन अहिले आएर भत्काउनुपरेको छ ।

पुनः निर्माणका लागि भन्दै पछिल्लो समय बल्खु–कलंकी सडकको सर्भिस लेन भत्काइएको छ । राम्रो अवस्थामा रहेको सर्भिस लेन भत्काएको भन्दै सर्वसाधरणले भने दोहोरो खर्च भएको भनेर आलोचना गरेका छन् ।

डिभिजन सडक कार्यालय, काठमाडौंले सडकको स्तरोन्नतिका लागि उक्त सर्भिस लेन भत्काउनुपरेको जनाएको छ । कलंकी बल्खु सडक खण्डको सर्भिस लेनको १ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको बेस ‘फेलिएर’ भई कालोपत्रे सतह बिग्रिएकाले भत्काएर बनाउनु परेको डिभिजन कार्यालयले जनाएको छ ।

फेलिएर भएको सडकखण्डमाथि एसफाल्ट ओभर मात्र गर्दा प्रभावकारी नहुने देखिएकाले भत्काउनु परेको डिभिजन कार्यालयले जनाएको छ ।

सडक विभागबाट नियुक्त परामर्शदाताले गरेको अध्ययन अनुसन्धानले पनि बिग्रिएको उक्त १ किलोमिटर सडकखण्डमा रिहाबिलिटेसन गर्नुपर्ने सिफारिस भएको डिभिजनले जानकारी दिएको छ ।

सोहीअनुसार परामर्शदाताले पेस गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर बेस कोर्स र ६ सेन्टिमिटर आसफाल्ट कंक्रिट गर्नेगरी रिहाबिलिटेसन गर्ने सिलसिलामा उक्त कार्य भइरहेको डिभिजनले जनाएको छ ।

कतिपय यस क्षेत्रका जानकारहरूले भने निर्माणका क्रममा योजनाबद्ध ढंगले काम नभएको र गुणस्तरहीन काम गरेका कारण अहिले आएर पिच भत्काउनुपरेको आरोप लगाएका छन् । चीन सरकारले कोटेश्वरदेखि कलंकीसम्मको चक्रपथको विस्तार गरेको हो । सर्भिस लेन भने नेपाल सरकारले बनाएको हो ।

राजधानी दैनिक बाट