चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्मचारी युनियन, वीर अस्पतालले रिक्त पदमा तत्काल नयाँ पदाधिकारी नियुक्तिको माग गरेको छ । प्रतिष्ठानमा अधिकांश पद रिक्त रहेकाले नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल (प्रचण्ड) सँग माग गरिएको बताइएको छ ।

आज प्रधानमन्त्रीको निजी सचिवालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निवेदन दर्ता गर्दै प्रतिष्ठानका अध्यक्ष डा.प्रकाशबहादुर थापाले र सचिव दिपक मुडभरीले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवामा खटिएकामध्येबाट चयन गर्नुपर्ने बताएका छन् ।

प्रतिष्ठान सेवामै कार्यरत प्राध्यापक वा वीर अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीमध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउन उनीहरुले आग्रह गरेका छन् ।

‘हाल यस प्रतिष्ठानमा पदाधिकारीहरु रिक्त रहेको हुँदा पदाधिकारी नियुक्तिको लागि प्रधानमन्त्री एवम् कुलपतिसमक्ष अनुरोध गर्दछौं’, निवेदनमा भनिएको छ, ‘पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवाका प्राध्यापकहरु मध्येबाट र प्रतिष्ठान सेवाकै (वीर अस्पतालमा कार्यरत) चिकित्सक तथा कर्मचारीहरुमध्येबाट कम्तिमा ५१ प्रतिशत पदाधिकारीहरु नियुक्त गर्ने व्यवस्था गरिदिनुहुन समेत अनुरोध गर्दछौं ।’