काठमाडौं । संसदमा तत्काल छलफल गर्नुपर्ने महत्वपूर्ण बिजनेश छोडेर सभामुख देबराज घिमिरेसहितको टिम स्वीट्जरल्यान्डतर्फ उडेको छ । सभामुखले प्रतिनिधिसभा १० दिनका लागि स्थगन गरेका छन् ।  अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १४८ औं महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख देवराज घिमिरे गएराति स्वीट्जरल्यान्ड प्रस्थान गरेका हुन् । महासभा चैत १० देखि १४ सम्म स्वीट्जरल्यान्डको जेनेभामा हुँदै छ । यता प्रतिनिधिसभा बैठक भने १८ चैतमा मात्रै बस्नेछ । सभामुखको टोलीमा प्रमुख चारै दलका प्रमुख सचेतक छन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासे (माओवादी), संसद्का महासचिव पदमप्रसाद पाण्डेय, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, सभामुख घिमिरेका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र संसद् सचिवालयका उपसचिव प्रदीप गुरागाईं टोलीमा गएका छन् ।