काठमाडौं । नेपाल सरकारले सहकारी ठग गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई नेपाल झिकाउन कूटनीतिक पत्र पठाएको छ । पोखरास्थित सूर्यदर्शनसहित देशभरका आधा दर्जन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएलगत्तैदेखि उनी भागेर बिदेशमा लुगेको आशंका छ । विश्वका प्रहरीहरूको साझा संगठन इन्टरपोलको खोजी सूचीमा रहेका राई मलेसियामा लुकेर बसेको भन्ने आधारमा देश फर्काउन सरकारले कूटनीतिक पहल थालेको हो । नेपाल प्रहरीको अनुरोधमा राईलाई फरार सूचीमा राखेर इन्टरपोलले माघ १२ मा डिफ्युजन र माघ २९ मा रेड कर्नर नोटिस जारी गरिएको थियो । गृह र परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राईलाई फिर्ता ल्याउन २ सातादेखि प्रक्रिया अघि बढाइएको हो । कूटनीतिक पहलबारे गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीले भने औपचारिक रूपमा बोल्न मानेनन् ।  फरार राई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष हुन् । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोगमा राईसहित १९ जनाविरुद्ध २०८० असोज १८ मा दायर सहकारी ठगीसम्बन्धी मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाका प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परी हाल पुर्पक्षका लागि कारागारमा छन् । राईसहित १५ जना अझै फरार छन् । राईविरुद्ध सूर्यदर्शनसहित चितवनको साहारा, पर्साको वीरगन्जमा रहेको सानो पाइला, रूपन्देहीको बुटवलस्थित सुप्रिम, बाँकेको नेपालगन्जस्थित समानता र काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीबाट हजारौं सर्वसाधारणको बचत रकम हिनामिना गरेको अभियोग छ ।