महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार आज शनिबार बिहानैदेखि बन्द रहेको छ । बन्दले सदरमुकाम महेन्द्रनगर बजार बाट छुट्ने लामो तथा छोटोदुरीका सवारीसाधन तथा अटो रिक्सा समेत प्रभाव परेको छ ।

राप्रपा कञ्चनपुरको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोध सभा नाम दिइएको आन्दोलनमा सहभागी एक समूहले कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त स्मारकमा राखिएको किसान नेता शहीद भीमदत्त पन्तको सालिकमा एक समूहले तोडफोड गरेको छ ।

शहीद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको निःशर्त रिहाइको माग गर्दै बजार बन्द गराएको हो । शनिबार बिहान एक समूहले बजारका सबै पसल व्यवसाय बन्द गराएको हो । यसैबीच, कञ्चनपुरको महेन्द्रनगरस्थित भीमदत्त उद्यानमा राखिएको किसान नेता शहीद भीमदत्त पन्तको सालिकमा अराजक समूहले तोडफोड गरेको घटनाको चौतर्फी विरोध भइरहेको छ ।

राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र बहादुर चन्दको आह्वानमा शुक्रबार दिउँसो महेन्द्रनगरमा आयोजित गणतन्त्रको विरोध सभामा सहभागी एक समूहले शहीद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको हो । सालिकको स्तम्भमा क्षति पुगेको छ । अर्धकद समेत तोडफोड गर्ने ठुलै प्रयास गरे पनि नफुटेपछि त्यत्तिकै छोडिएको छ ।

यसैबिच अमर शहीद भीमदत्त पन्त स्मृति प्रतिष्ठान केन्द्रीय समिति कञ्चनपुरले एक प्रेस विज्ञप्ति जारी गर्दै घोर भर्त्सना तथा निन्दा गरेको छ । साथै त्यस्तो अराजक तथा राष्ट्र र समाज विरोधी गतिविधि गर्ने संस्थाका नेतृत्वकर्ता र व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकार र प्रशासनसँग जोडदार माग गरिएको प्रतिष्ठानका अध्यक्ष खेम सुवेदीले बताए ।

“सुदूरपश्चिमी किल्लाबाट राणा शासनको अन्त्यका लागि भएको राजनीतिक परिवर्तनमा ऐतिहासिक योगदान गरेका, कृषि क्रान्तिद्वारा आमूल परिवर्तनका निम्ति अविचलित क्रान्तिकारी योद्धा, दिल्ली सम्झौता लगायत वैदेशिक हस्तक्षेपका विरुद्ध देशका लागि जीवन उत्सर्ग गर्ने ती महान् योद्धा शहीद भीमदत्त पन्तको भीमदत्त नगरपालिका–१८ स्थित, स्थानीय पार्क भित्रको सालिक देशद्रोही, प्रतिगामी एवम् पुनरुत्थानवादी कुतत्वद्वारा आज दिउँसो १ः३० बजेको समयमा तोडफोड गरेको प्रति प्रतिष्ठानले सिङ्गो नेपाली जनता (किसान) माथिको आक्रमण र प्रहार हो भन्ने ठहर गरेको छ । र घोर भर्त्सना तथा निन्दा प्रकट गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

राजधानी दैनिक बाट