उच्चस्तरीय जाँचबुझ आयोगले दुई जनाको ज्यान जाने गरी भएको बालकुुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पनि मुख्य जिम्मेवार भएको निष्कर्ष निकालेको छ ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको जाँचबुझ आयोगले मन्त्री, पीएसओ र अपरेसन कमाण्डर घटनामा जिम्मेवार रहेको आयोगको निष्कर्ष छ ।

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । त्यही बेला भौतिक पूर्वाधारमन्त्री ज्वालाको गाडी आएपछि प्रदर्शनकारीले रोके । मन्त्री गाडी छोडेर हिँडे, तर प्रदर्शनकारीले मन्त्रीको गाडीमा तोडफोड र आगजनी गरेको अपुष्ट खबर आएपछि अर्कोतर्फ रहेको डीएसपी उमेश लम्साल नेतृत्वको प्रहरी टोली बल प्रयोग गर्दै अगाडि बढेको थियो ।

त्यसक्रममा प्रहरीले हानेको गोली लागेर अछामका वीरेन्द्र शाहको मृत्यु भयो भने अर्का मृतक दैलेखका सुजन रावतलाई बन्दुकको कुन्जाले हानेको प्रारम्भीक अनुसन्धानले देखाएको थियो ।

त्यसका आधारमा डीएसपी लम्साल र मन्त्रीका निजी सुरक्षा अधिकारी (पीएसओ) बोधराज अधिकारीलाई निलम्बन गरिएको थियो भने ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख शिद्धिविक्रम शाहको सरुवा गरिएको थियो ।