काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रमुख प्रायोजक अधिकार टाटा कम्पनीले फेरि किनेको छ । टाटाले २५ सय करोड भारुमा ५ वर्षको प्रमुख प्रायोजक अधिकार किनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । टाटाबाट अब आईपीएलको एक सिजनको लागि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले शीर्षक प्रायोजनबाट ५०० करोड भारु पाउने भएको छ । यसअघि पनि आईपीएलको उपाधि अधिकार टाटासँग थियो । कम्पनीले २०२२ मा ७३० करोड रुपैयाँ तिरेर २०२३ सम्मको अधिकार खरिद गरेको थियो । कम्पनीहरूले आइपिएलको प्रायोजकका लागि टेन्डर प्रक्रियामा सहभागी भएर बढी रकम बोलकबोल गर्ने कम्पनीले प्रायोजन पाउने गर्दछन् । यस पटकको टेण्डर प्रक्रियामा आदित्य बिडला समूहले २५ सय करोड भारुको बोली लगाएको थियो । तर पछिल्लो प्रायोजकसँग सोहि रकममा प्रयोजन लिन सक्ने अधिकार रहने नियम रहेकाले  टाटाले सोहि रकममा आइपिएलको प्रायोजन लिएको हो ।  अब आईपीएललाई आईपीएल मात्र नभई टाटा आईपीएल भनिनेछ ।  सन् २००८ मा पहिलो शिर्ष प्रायोजक डिएलएफले वार्षिक ५० करोड भारुमा प्रयोजन अधिकार किनेको थियो भने २०२४ मा आइपुग्दा यो रकम वार्षिक ५०० करोड रुपैयाँ पुगेको छ ।  यो बर्ष आईपीएलको १७ औं सिजन हुदै छ । रिपोर्टका अनुसार प्रतियोगिता मार्च २२ बाट सुरु हुन सक्छ, तर भारतमा यस बर्ष लोकसभा चुनाव पनि हुने भएकाले आईपीएलको खेल तालिका बारे अहिलेसम्म स्पष्ट जानकारी छैन । अघिल्लो आइपिएल मार्च ३१ देखि मे २८, २०२३ सम्म चलेको थियो ।