काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस नेपाल आउने मिति पछि सरेको छ । इजरायल र प्यालेस्टिन हमास समूहबीच युद्ध चर्किएपछि गुटेरसले नेपाल भ्रमणमा आउने मिति पछि सरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पुष्टि गरेको छ ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक बस्नुपर्ने भएका कारण गुटेरसले नेपाल आउने मिति पछि सारेका हुन् । राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापासँग सोमबार भएको भेटका क्रममा गुटेरसले सो कुराको जानकारी गराएका हुन् ।   उनी नेपाल भ्रमणका लागि असोज २६ गते शुक्रबार काठमाडौं आइपुग्ने कार्यक्रम थियो । प्रधानमन्त्री प्रचण्डको निमन्त्रणामा उनी तीनदिने नेपाल भ्रमणमा आउन लागेका थिए । सो क्रममा उनले लुम्बिनी र पोखरा जाने कार्यक्रम तय गरिएको थियो । ‘राष्ट्रसंघको महासचिवको नेपाल भ्रमण स्थगित भएको छ,” परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्, ‘भ्रमण केही समयपछि हुने छ । मिति आपसी सल्लाहमा तय हुन्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । नेपालको शन्ति प्रकृयाप्रति चासो दिएका गुटेरसले नेपालमै आएर यसबारे थप बुझ्ने तयारी गरेका थिए ।   शनिबार हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण तत्काल संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको बैठक बस्न लागेको हो ।