राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधान र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन । सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पाइने छैन ।

आचारसंहिता लागुभएपछि निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न पाइने छैन । यस्तै,केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान प्रयोग गर्न पाउने छैनन् ।

सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागु हुनेगरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागु गरिएको छ,’ आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सभामा रित्त १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ । जसमा सातै प्रदेशबाट ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।