नेपाल एयरलाइन्सको अनलाइन टिकट काट्दा अब आइएमई पेबाट पैसा तिर्न सकिने भएको छ । नेपाल एयरलाइनस र आइएमई पे बीच विद्युतीय भुक्तानी सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै यो व्यवस्था संचालनमा आएको हो ।

समझदारीअनुसार अनलाइनबाट टिकट लिँदा ग्राहकले आफ्नो आवश्यकता अनुरुपको गन्तव्य र मिति छानेर मागिएको विवरण भरी चेकआउट गर्ने क्रममा आइएमई पे छनौट गरी सजिलै भुक्तानी गर्न सकिने छ । आफ्ना ग्राहकका लागि भुक्तानी प्रक्रिया सहज बनाउनु साथै विद्युुतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यले यस्तो सम्झौता गरिएको आइएमई कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । साथै, आईएमई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराई यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टको सहयोगबाट मोबाइल मार्फत विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्छन् ।