कैयौँ सफल अनुसन्धानका कारण प्रसिद्धि कमाएको धनकुटाको पाख्रीबासस्थित कृषि अनुसन्धान केन्द्रले यतिबेला साख गुमाउँदै गएको छ ।

तरकारी र दलहनबाली, फलफूल तथा पशुपन्छीको नयाँ जात सिफारिस गर्नुका साथै बिउ उत्पादनमा निकै प्रगति गरेको यो केन्द्रको दुर्दशा आर्थिक र जनशक्ति कटौती हुन थालेपछि सुरु भएको हो । पूर्वी पहाडको कृषि विकासका लागि बेलायती सरकारको सहयोगमा २०२८ सालमा स्थापित केन्द्रलाई २०५५ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।

केन्द्र प्रमुख तीर्थराज रिजालले नेपाल सरकारको मातहतमा आएपछि कर्मचारी कटौती हुन थालेको र यसले गर्दा अनुसन्धानमा असर परेको जानकारी दिँदै भन्नुभयो, “केही समय राम्रैसँग सञ्चालन भयो । पछि क्रमशः बेवास्ता गरिन थालियो । अहिले त थलिँदै गएको छ ।”

यसै केन्द्रका कारण पूर्वी पहाडमा धेरै कृषकलाई व्यावसायिक बन्न मद्दत मिल्नुका साथै यहाँको कृषि क्षेत्र नै फेरिन पुगेको छ । पाख्रीबासले अनुसन्धान गरेको पाख्रीबास कालो बङ्गुर, गिरिराज कुखुरा, खरी बाख्रा, विभिन्न तरकारी, दलहन तथा फलफूल अहिले पनि निकै लोकप्रिय छन् ।  नेपाली बजारमा कालो धराने बङ्गुर नामबाट प्रसिद्धि कमाएको यो जातको बङ्गुर केन्द्रले नै विकास गरेको हो । यसको वास्तविक नाम पाख्रीबास कालो बङ्गुर राखिए पनि धरानबाट यसले व्यावसायिकता पाएकाले धराने कालो बङ्गुरका नामले चर्चा कमाएको छ । कुनैबेला यसको पाठा लिन दुई वर्षसम्म पर्खिनुपर्ने हुन्थ्यो ।

“त्यतिबेला अनुसन्धान केन्द्रले सिफारिस गरेका पशुपन्छी र कृषि उत्पादन अहिले पनि उत्तिकै लोकप्रिय छन् । केन्द्रले सिकाएको खेती विधिलाई अवलम्बन गरेर पूर्वी पहाड व्यावसायिक कृषिमा अन्य क्षेत्रभन्दा अगाडि छ । यो त्यहीबेलाको देन हो । त्यसबेला कमाएको ख्याति गुमाउँदै गएको छ । केन्द्र सरकारको बेवास्ताको सिकार बनेको छ,” उहाँले भन्नुभयो ।

कुनै समयमा पाँच सय कर्मचारी रहेको केन्द्रमा अहिले ८५ जना मात्रै कायम गरिएको छ । तीमध्ये पनि २० जना कर्मचारी मात्र कार्यरत छन् । प्रमुख वैज्ञानिकको पद लामो समयदेखि रिक्त छ । १८ वैज्ञानिकको दरबन्दी रहेको केन्द्रमा हाल तीन जना मात्र कार्यरत छन् । वरिष्ठ प्राविधिक तथा प्राविधिक गरी २० जनाको दरबन्दीमध्ये हाल तीन जना कार्यरत छन् । जेटी, जेटिए र ओभरसियरका १५ दरबन्दीमध्ये एक जना पनि कर्मचारी छैनन् ।

केन्द्रको बागवानी एकाइका वैज्ञानिक कृष्ण पौडेलले कर्मचारी अभावले विभिन्न एकाइ लामो समयदेखि बन्द भएको बताउनुभयो । माटो प्रयोगशाला, टिस्युकल्चर ल्याब, बाली संरक्षण, बाह्य अनुन्धान एकाइलगायत बन्द छन् ।

अहिले एभोकाडो, किवी, अकबरे खुर्सानी, अलैँची, विभिन्न जातका बाख्रा, कुखुरालगायतमा अनुसन्धान गरिरहेको छ तर कुनै पनि अनुसन्धानमा ठोस उपलब्धि हासिल गर्न नसकेको चर्चा गर्दै उहाँले थप्नुभयो, “अनुसन्धानका काम नभएको त होइन तर अनुसन्धान प्रभावित छ ।” केन्द्रले करिब ९२ हेक्टर क्षेत्रफलको भूभाग चर्चिएको छ । स्थानीय कृषि अभियन्ता जीवनप्रसाद राईले अनुसन्धानमा राज्यको लगानी कम भएकाले केन्द्रमा अनुसन्धान घट्दै गएको बताउनुभयो । गोरखापत्रबाट