काठमाडौं । वर्तमान सरकारले सत्ता सञ्चालनको नेतृत्व गरेसँगै विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा वितरणमा उल्लेख्य सुधार देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निरन्तर अनुगमन र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको आन्तरिक व्यवस्थापनमा देखिएको सुधारले यो अवस्था आएको हो । यससँगै सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड लगातार तीन वर्षदेखि मुनाफामा गएको छ ।  केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले केन्द्रले तीन वर्षको अवधिमा ५१ करोड रुपियाँ नाफा आर्जन गरेको जानकारी दिए । २०६२,६३ को दोस्रो जनआन्दोलनपछि कुनै वर्ष सामान्य नाफा कमाए पनि केन्द्रको इतिहासमै पहिलो पटक तीन वर्षदेखि निरन्तर नाफामा रहेको केन्द्रको दाबी छ । प्रबन्ध सञ्चालक झाले पाठ्यपुस्तक छपाइ र वितरणमा पछिल्लो समय देखिएको सुधारले आफूहरूलाई उत्साहित बनाएको बताए । शैक्षिक सत्र सुरु भएको लामो समय बितिसक्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पु(याउन नसकेको भन्दै हरेक वर्ष केन्द्रको आलोचना हुने गरेको थियो । तर केन्द्रले गत वर्ष भने समयमै छपाइ तथा वितरण गरेर सबैतिरबाट स्याबासी पाएको छ ।  केन्द्रले गत वर्ष कक्षा एकदेखि १२ सम्मका ५२ लाख विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराएको सरकारले एक वर्षको मुख्य उपलब्धिमा समेत समावेश गरेको छ । प्रबन्ध सञ्चालक झाले सरकारको सहयोग, कर्मचारीको मेहनत तथा कुशल व्यवस्थापनका कारण उक्त कार्य सम्भव भएको जानकारी दिए ।  विद्यार्थीलाई भर्ना भएकै दिन पाठ्यपुस्तक पुर्‍याउने लक्ष्य हरेक सरकारले राखे पनि गत वर्ष भने यस काममा वर्तमान सरकार सफल भएको हो । केन्द्रले करिब पाँच महिना मात्रै मेहनत गरेर पनि तोकिएको समयमा पाठ्यपुस्तक पुर्‍याउन सफल भएको थियो । पाठ्यपुस्तक छपाइ प्रक्रियाबारे सरकारी निकायबाट निरन्तर भएको अनुगमनले पनि यो उपलब्धिमा सहयोग पुर्‍याएको थियो । यस काममा माथिल्ला निकायबाट अनुगमनको शृङ्खला बढेपछि केन्द्रका अधिकारी पनि यसमा गम्भीर भएर लागे । जसका कारण कागज खरिद प्रक्रिया सहज भयो । कागज आपूर्तिकर्ताले भनेकै समयमा कागज ल्याइदिए । जनक शिक्षा सामग्री केन्द्रमा पुरानाबाहेक थप तीन वटा छपाइ मेसिन पनि यही समयमा थपिए । प्रबन्ध सञ्चालक झाले यस कार्यमा सरकारको सहजीकरणले पनि निकै ठुलो भूमिका निर्वाह गरेको बताए । गोरखापत्र