काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेताहरुको नयाँ सांगठनिक कार्य विभाजन गर्ने भएको छ । माओवादीले पदाधिकारी बैठकपछि मातहतका कमिटीमा पठाएको सर्कुलरमा उल्लेख भए अनुसार माओवादीले विधान अधिवेशन फागुनको पहिलो सातामा गर्ने निर्णय गरेको छ । मिति, स्थान र प्रतिनिधि बारे स्थायी समितिको बैठकले टुङ्गो लगाउने छ ।  पदाधिकारी बैठकले नै उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, सचिवहरू गणेश शाह र सुरेन्द्र कुमार कार्की सम्मिलित सात सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले १५ दिनभित्र विधानको मस्यौदा तयार गरी सक्ने बताइएको छ ।   माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । यसरी सिफारिस पठाउँदा प्रदेशहरू एवं ज.व.स.मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।