दाङ । सांसद सुनिलकुमार शर्माले दाङको शान्तिनगर गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराउनेको घुँईंचो लागेको छ । बिहीबार दाङको शान्तिनगर गाउँपालिकाको कार्यालय चिराघाटमा काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा १३ सय १९ जनाको स्वास्थ्य जाँच गरियो ।

काठमाडौं मेडिकल कलेजका विशेषज्ञ डाक्टरहरुसहित लुम्बिनी प्रदेश पुगेका संघीय सांसद सुनिलकुमार शर्माले चिराघाटमा आयोजित निःशुल्क स्वास्थ्य शिविरलाई संवोधन गर्दै जनतालाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन सक्नुपर्ने बताए । राज्यले जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्नेमा असफल भएको चर्चा गर्दै राज्य जनताप्रति जवाफदेही बन्न नसकेको जिकीर गरे । सांसद शर्माले शिविरबाट ओ.टी. रेफर भएका बिरामीहरुलाई काठमाडौं मेडिकल कलेजमा निःशुल्क अपरेशन गरिने पनि बताए ।

शिविरमा बोल्दै लुम्बिनी प्रदेश सांसद निमा गिरीले स्वास्थ्य क्षेत्रमा सांसद सुनिलकुमार शर्माले पुर्र्याएको योगदानको चर्चा गर्दै राज्यले ग्रामिण क्षेत्रको स्वास्थ्य सुधार गर्न बढी ध्यान दिनुपर्ने बताइन् । सांसद शर्माले व्यक्तिगत प्रयासबाट गरेका समाज सेवा र स्वास्थ्य सेवाबाट हज्जारौं नागरिक लाभान्वित भएको बताउँदै उनले बढी श्रोत र साधन भएको सरकारको भूमिका कमजोर रहेको जनाइन् ।

शिविरमा १७६ जनाको भिडियो एक्सरे, १४३ जनाको ल्याब परीक्षण, ४२ जनाको इसिजी, १४१ जनाको इको गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार शिविरमा ५३ जनाको दाँत खोलिएको थियो भने, ५३ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको छ ।

शिविरमा स्त्री तथा प्रसुति रोग, बाल रोग, जनरल मेडिसिन, आँखा रोग, दन्त रोग, नसा तथा हाडजोर्नी लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएका थिए । शिविरबाट ओ.टी. रेफर भएकाहरुलाई सांसद शर्माले केएमसीमा निःशुल्क उपचारको व्यवस्था गरेका छन् । गाउँमै काठमाडौंबाट विशेषज्ञ चिकित्सक सहित स्वास्थ्य टोली आएको थाहा पाएपछि स्वास्थ्य जाँच गराउन सो क्षेत्रका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरु भीड लागेको थियो ।

स्वास्थ्य शिविरमा केएमसीका २५ जनाको स्वास्थ्य टोली रहेको छ । उक्त टोलीले बुधबार प्यूठानको गौमुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।