काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। आज (बिहीबार) बिहान बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले फागुन पहिलो साता पार्टीको विधान सम्मेलन गर्ने निर्णय गरेको हो। यसका लागि विधान मस्यौदा समिति पनि गठन गरिएको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जाानकारी दिएका छन्।  उनका अनुसार विधान मस्यौदा समितिमा पार्टीका उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरू गणेश शाह र राम कार्की छन्। उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान सम्मेलनको मिति तय गर्नुका साथै विधानको मस्यौदा तयार पार्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको बताए।  विधान मस्यौदा समितिले आजबाट नै काम सुरु गरी १५ दिनभित्र मस्यौदा तयार गरिसक्ने प्रवक्ता सापकोटाले बताए। सापकोटका अनुसार विधान सम्मेलनअघि केन्द्रीय समिति बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय समितिले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने छ।  पदाधिकारी बैठकले पार्टीको ‘माओवादी विशेष रुपान्तरण अभियान’ सफल भएको भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए।