सरकारले मेलम्ची खानेपानी विकास समितिललाई मेलम्चीको पानी छिटो ल्याउन दबाब दिएपछि मेलम्ची खानेपानी विकास समितिले बढीमा २८ दिन भित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण हुने दाबी गरेको छ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले विज्ञप्ति जारी गर्दै आकस्मिक रुपमा केही नभए अबको २८ दिन भित्रमा मेलम्चीको पानी दैनिक १७ करोड लिटरका दलले काठमाडौँ उपत्यकामा वितरण गर्ने जनाएका हुन्।

पन्तले जारी गरेको विज्ञप्तिमा पानी वितरणका लागि २८ दिनको द्रुत कार्यतालिका बनाएर २ सिफ्टमा काम गर्नेगरी जनशक्ति परिचालन गरिएको उल्लेख छ।

बाढी पहिरोले आयोजनामा क्षति पुगेको भन्दै गएको असार ८ गतेदेखि आयोजनाले काठमाडौँ उपत्यकामा पानी वितरण रोकेको छ।

आयोजनाले क्षतिग्रस्त संरचना मर्मतपछि वर्षायाम सकिने बित्तिकै पुनः उपत्यकामा पानी वितरण गरिने जनाएको थियो। तर, पुस लाग्दासमेत पानी वितरण हुन सकेको छैन।

सरकारी निकायको ढिलासुस्तीको कारण ६ महिनामा पनि पानी वितरण नभएपछि काठमाडौँमा चर्को विरोध हुन थालेको छ। मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको थियो।जनस्तरबाट भएको विरोधले समिति गम्भीर बनेको भन्दै पन्तले यसबाट आफूहरु गम्भीर बनेको जनाएका छन्।