जिल्लाको नलगाड नगरपालिका १ चिउरीकी विमला महर सुत्केरी भएको आज दुई हप्ता मात्र भएको छ । पालको वासमा रहेकी उहाँलाई चिसो थेग्न निकै मुस्किल परेको छ । चिसोले राती निन्द्रा नपरेपछि दिउसो घाममा सुत्ने गरेको तर तीन दिन यता भइरहेको बदलीले गर्दा समस्या भएको उहाँको भनाई छ । चिसोले गर्दा होला रातभर बच्चा रोई रहने र आफू  पनि सुन्निएको  विमलाको चिन्ता छ ।

नलगाड नगरपालिका–१ चिउरीकी मोतीकला महरले यसरी पाल भित्र कष्टकर जीवनयापन गर्नुपर्ने अवस्था आइलाग्ला भन्ने कहिल्यै नसोचेको बताउनु हुन्छ  । कात्तिक १७ गते राति गएको भूकम्पले घर भत्किएपछि ३ महिनाको शिशुलाई काखीमा च्यापेर मोतीकला पाल मुनी बस्न बाध्य हुनु भएको छ ।माथिबाट चुहिने शीत र नदीको किनारबाट चल्ने सिरेटोबाट आफू र शिशुलाई कसरी जोगाउने भन्ने चिन्ताले मोतीकलालाई निकै पिरोल्न थालेको छ ।

दुई सय भन्दा बढी घरधुरी रहेको चिउरी गाउँमा ४५ जना सुत्केरीसँगै १२ जना गर्भवती महिला भएको स्वयंसेविका विकले जानकारी दिनु भयो । चिउरीकी सुत्केरी र गर्भवती महिलाहरूलाई टेन्ट मात्र नभएर न्यानो कपडा, पोषणयुक्त खाद्यान्नको अभाव भइरहेको स्वयंसेविका विकको भनाई रहेको छ । अधिकांश दलित बस्ती रहेको चिउरीमा भूकम्पले १३ जनाको ज्यान लिएको थियो । विपन्न वर्गका समुदायका बाहुल्यता रहेको यस गाउँमा लत्ताकपडा र खानेकुराको समेत अभाव देखिएको छ ।

यति वेला सुत्केरी र बालबालिकालाई न्यानो कपडाका साथै पोसिलो खानेकुराको आवश्यकता रहेको छ । महिला अधिकारकर्मी पार्वती विकले भूकम्प पछि त्रिपालमा बस्नुपर्दा सुत्केरी र बालबालिकालाई प्रभावित भएको विकले जानकारी दिनु भयो ।

चिसोका कारण जोखिम समूहमा रहेका जाजरकोट र रुकुम पश्चिमका ३४ हजार ४ सय ७३ नागरिकलाई ज्यान जोगाउन समस्या पर्न थालेको छ । त्यस्तै एक हजार ८ सय १५ भर्खरका सुत्केरी त्रिपालको चिसोमा बस्न बाध्य छन् । चिसोकै कारण जाजरकोटमा २० जना र रुकुम पश्चिममा तीन जना गरी ८ जनाले ज्यान गुमाई सकेका छन् । एक हजार भन्दा बढी बिरामी परेका छन् ।गोरखापत्रबाट