काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप २८) मा सहभागी हुन यूएई जान लागेका हुन् ।  भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोलगायत उच्च सरकारी अधिकारी छन् । बिहीबार (भोलि) देखि दुबईमा सुरु हुने कोप, २८ सम्मेलनलाई प्रधानमन्त्री दाहालले मंसिर १६ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपालले जलवायु परिवर्तनले पारेको असरबारे आवाज उठाउने र यो मुद्दालाई नेपालले दरिलो रुपमा राख्ने प्रधानमन्त्रीले बताइसकेका छन् ।  कोप २८ मंसिर १४ देखि २६ सम्म यूएईको दुबईमा हुँदैछ । मंसिर १५ र १६ मा ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ। उनी यूएई सरकारले आयोजना गर्ने ५२औँ एकता दिवसमा आयोजित समारोहमा पनि सहभागी हुनेछन् । प्रधानमन्त्रीले सम्मेलनकै दौरान पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकारः जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्नेछन् । हिमालको एजेन्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले यो कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ ।  प्रधानमन्त्री दाहालले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री दाहाल पाँच दिवसीय यूएई भ्रमण सकेर मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ। कोप सम्मेलनमा नेपालबाट सरकारी तथा गैरसरकारी गरी झण्डै २ सय नेपाली प्रतिनिधि युएई जान लागेको सरकारी श्रोतको दावी छ ।  सम्मेलनमा कतिपय भूमिका नै नभएका व्यक्तिहरू राज्यकोषको दोहन गरी घुमघामका लागि मात्रै जान लागेको वन तथा वातावरण मन्त्रालय स्रोतले जानकारी दिएको छ । सम्मेलनमा प्रधानमन्त्री प्रचण्डलगायत वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतो, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, शहरी विकासमन्त्री सीता गुृरुङ, वन सचिव डा. दीपक खराललगायतका व्यक्तिहरू जाँदै छन् । बुधबार पहिलो चरणमा प्रधानमन्त्रीसँगै वनमन्त्री र वन मन्त्रालयको टोली सहभागी हुनेछ भने दोस्रो चरणमा स्वास्थ्य, ऊर्जा र सहरी विकासमन्त्री त्यसतर्फ जाने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा यी मन्त्रीहरूको भने खासै काम नहुने बताइएको छ । यसै गरी वन मन्त्रालयका विभिन्न महाशाखाका प्रमुखहरू, वन मन्त्रीका स्वकीय सचिवालयका कर्मचारीहरू समेत सरकारी खर्चमा सो सम्मेलनमा सहभागी हुने भएका छन् । उच्च पदस्थहरूले विभिन्न दातालाई प्रभावमा पारेर आफू निकटका व्यक्तिलाई समेत कोप सम्मेलनमा लैजाने तयारी गरेको बताइएको छ । सो सम्मेलनका लागि केही व्यक्तिहरू संयुक्त अरब इमिरेट्सको दुबईमा पुगिसकेका छन् । यसै गरी कार्यक्रममा सहभागी भएर घुमघाम गर्न विभिन्न मन्त्रालयका सचिव तथा सहसचिवहरूसमेत लबिङमा रहेका छन् । उच्च पदस्थहरूका निकटहरूले आफू सहभागी हुन दातालाई दबाब दिएर दाताकै सहयोगमा त्यसतर्फ जाने तयारी गरेको स्रोतले जानकारी दिएको छ । केहीले भने दातालाई रिझाएर त्यसतर्फ जाने परिपञ्च मिलाइसकेका छन् ।