राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका नेताहरुबीचको भेटघाट बाक्लिन थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दर्जनौँपटक भेटघाट भइसकेको छ ।
भेटमा ओलीले राष्ट्रपतिमा पूर्वसहमतिअनुसार एमालेले नै पाउनुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री दाहालले यसअघिको अभ्यासलाई मध्यनजर गरेर राष्ट्रपति राष्ट्रिय सहमतिमै बन्नुपर्ने अडान राख्दै आएका छन् ।

कांग्रेस नेताहरुले भने राष्ट्रपतिमा आफ्नो दखलको उममेदवार विजयी हुने र वर्तमान सत्ता गठबन्धन धरापमा पर्ने दाबी गर्दै आएका छन् । कांग्रेस नेताहरुको भनाइलाई पुष्टि गर्ने गरी आइतबार एउटा गोप्य भेटघाट सम्पन्न भएको छ ।

आइतबार राति प्रधानमन्त्री दाहालसँग कांग्रेस सभापति शेरबहादुर देउवाले  ‘गोप्य भेटवार्ता’ गरेका छन् । प्रचण्डलाई भेट्न देउवा स्वयं सरकारी निवास बालुवाटारमा पुगेका थिए ।
राजनीतिक माहोल बिग्रिने सम्भावनाका कारण बालुवाटार र देउवाको सचिवालय दुवैले सो भेटलाई गोप्य नै राखेका छन् । भेटमा राष्ट्रपतिको निर्वाचन र सत्ता सहकार्यका सम्भावित विकल्पका विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

एमातिर, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच राष्ट्रपतिको विषयमा सहमति हुन नसक्नुर अकोतिर प्रचण्ड र देउवाबीच गोप्य भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।