चितवन । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले गणतान्त्रिक व्यवस्था नबदिले बताएका हुन् ।  देउवाले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताए । ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन,’ उनले भने । गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने पत्रकारको प्रश्नमा सभापति देउवाले भने, ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौँ ।’ वर्तमान सत्तारुढ गठबन्धन दलको सत्तासाझेदारीका विषयमा पनि सभापति देउवालाई पत्रकारहरूले प्रश्न गरेका थिए । सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले स्पष्ट जवाफ दिनुभएन । गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ ? यस प्रश्नमा उनको जवाफ थियो, ‘थाहा पाइहाल्नु हुन्छ नि ।’ त्यस्तै कांग्रेस नेता डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसद्ले चाह्यो भने जे पनि हुनसक्छ,’ उनले भने । सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाइ थियो । गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।’ रासस