काठमाडौं । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न सुरु भएको छ । सरकार, अन्तर्राष्ट्रिय निकाय, विभिन्न कम्पनी तथा संघसंस्थाले भूकम्पपीडितलाई धमाधम सहयोग रकम घोषणा गरिरहेका छन् ।

संघीय सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुमपश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल ५÷५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शनिबार बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।

साथै प्रदेश सरकारले गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभावित जिल्लामा आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाउने निर्णयसमेत गरेको छ ।

कोशी प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई आवश्यक मानवीय सहयोग सामग्री पठाउने व्यवस्था मिलाइएको र सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार, पुनस्र्थापना, पुनर्निर्माणलगायतका कार्यमा सहयोग पु¥याउन कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।

यता बाग्मती प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितलाई राहतस्वरूप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्पबाट पीडितको राहत, उद्धार, र पुनर्निर्माणका लागि बाग्मती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आपत्कालीन अवस्थामा कर्णाली प्रदेश सरकारलाई राहत र उद्धारमा सहयोग गर्न सो रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरी केही दिनमा नै सो रकम कर्णाली सरकारलाई हस्तान्तरण गरिनेछ ।

यता गण्डकी प्रदेश सरकारले भने भूकम्पबाट पीडितका लागि आर्थिक सहयोगको घोषणा गरेको छैन । आइतबार छलफल गरेर यस’bout निर्णय निर्णय लिने बताइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शनिबार एक विज्ञप्ति जारी गरी कर्णालीको पीडामा गण्डकी सरकारले सहयोग गर्ने बताएका छन् । उनले प्रभावित क्षेत्रमा मानवीय सहायता पु¥याउने उद्देश्यले गण्डकी प्रदेश सरकारले स्वास्थ्य सामग्रीसहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाएको छ ।

यता मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस प्रदेश सरकारले भूकम्पपीडितलाई सहयोग गर्न छिट्टै सर्वदलीय बैठक बसी आवश्यक निर्णय गर्ने जानकारी दिएका छन् ।

यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक महिनाको आफ्नो तलब भूकम्पपीडित प्रदान गर्ने घोषणा गरेका छन् । उनले राहतकोषमा जम्मा गर्ने भएका छन् ।

यस्तै, चीनले जाजरकोट भूकम्प प्रभावितका लागि १० करोड रुपैयाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार भूकम्पपछिको पहिलो चरणको सहयोगका रूपमा १ सय मिलियन मूल्यबराबरको पाल र ब्ल्यांकेटलगायतका सामग्री उपलब्ध गराउने घोषणा गरेको हो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा चीनले भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक÷दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् । ‘थप सहायता सामग्री बाटोमा छन्,’ उनले सामाजिक सञ्जाल एक्समार्फत भनेका छन् ।

यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताएका छन् ।

नेपालस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ ।

गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

त्यसैगरी, आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले शनिबार विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट संकलन गरेर सो रकम सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिए ।

यस्तै, नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग भएको इन्धनको रकम आफैंले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०÷८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । महासंघले प्रभावित जनतालाई आर्थिकलगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य संघसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो । सहयोग गर्न चाहनेका लागि महासंघको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । क्यानले आईसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले शनिबार विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबिच त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुमपश्चिम र रुकुमपूर्वमा पाँच दिनका लागि सेवा निःशुल्क गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको अध्यक्षतामा बसेको बैठकले भूकम्प प्रभावित ती क्षेत्रमा पाँच दिनका लागि फोन तथा म्यासेज निःशुल्क गर्ने निर्णय गरेको सञ्चार मन्त्रालयका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिए ।

हाल भूकम्प प्रभावित रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवा सञ्चालन रहेको टेलिकमले जनाएको छ । कम्पनीले यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवालाई नियमित रूपमा सञ्चालन राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

सूचना आदानप्रदानलाई निरन्तरता दिन सो क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकलाई पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराइको कम्पनीले उल्लेख गरेको छ । यसका अतिरिक्त सो क्षेत्रमा पाँच दिनको अवधिका लागि निःशुल्क भ्वाइस तथा एसएमएस सेवासहितको निःशुल्क सिम उपलब्ध गराइने टेलिकमका प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

सो सिम कम्पनीको सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोट कार्यालयबाट उपलब्ध हुने उनले बताए । उद्धार क्षेत्रमा सूचना आदानप्रदान गर्न आवश्यकअनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराइनेछ ।

निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए ।

एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख रुपैयाँबराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकलाई आग्रह गरेको थियो । यस्तै, नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।

निजी क्षेत्रको ठुलो वायु सेवा कम्पनी बुद्ध एयरले भूकम्पपीडितका लागि १ करोड आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

‘जाजरकोट तथा रुकुमपश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुद्ध एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा १ करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यस्तै, बुद्ध एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।

यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउन्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।

राजधानी दैनिक बाट