काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस नेपालको चारदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीमूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।

जलवायु परिवर्तन र शान्ति प्रक्रिया मुख्य प्राथमिकतामा

महासचिव गुटेरस आइतबार बिहान १ बजे नेपाल आइपुगेका छन् । परराष्ट्रमन्त्री एनपी साउदले उनलाई स्वागत गरेका छन् । कात्तिक १२ गते दिउँसो परराष्ट्रमन्त्री साउदसँग द्विपक्षीय भेटवार्ता गरेपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डले गत असोजमा न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसंघको ७८औं साधारणसभा र इटलीको रोममा गत साउनमा सम्पन्न राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागी हुनेक्रममा महासचिव गुटेरसलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

विशेषगरी, नेपालको शान्ति प्रक्रिया र जलवायु परिवर्तनका कारण हिमालले भोेगेको समस्या, दिगो विकासको लक्ष्यलगायतको विषय संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको नेपाल भ्रमणको मुख्य एजेन्डा रहेका छन् । महासचिव गुटेरसको भ्रमणमा नेपालका सुरक्षाकर्मीले यूएन मातहत रहेर संसारका द्वन्द्वग्रत मुलुकमा पु¥याउँदै आएको शान्ति स्थापना’bout पनि चर्चा हुनेछ । नेपालले सन् १९५८ देखि विश्वमा शान्ति स्थापनाका लागि योगदान गर्दै आइरहेको छ ।

नेपाल अहिले संख्याको हिसाबमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने मुलुकमा विश्वमै दोस्रो नम्बरमा रहेको छ । महासचिव गुटेरसलाई नेपाली शान्ति सैनिकको सम्बन्धमा पनि नेपाल भ्रमणमा जानकारी गराइनेछ । स्रोतका अनुसार त्यसले नेपालले आगामी दिनमा थप शान्ति सैनिक पठाउन र यूएनका माथिल्लो तहमा पनि नेपाली पदाधिकारीलाई पुग्न सहज हुनेछ ।

कात्तिक १२ गते आइतबार महासचिव गुटेरसले नेपालका पूर्वप्रधानमन्त्रीसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम छ । आइतबारै महासचिव गुटेरस ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन भ्रमणमा जाने र साँझ प्रधानमन्त्री प्रचण्डले आयोजना गर्ने रात्रिभोजमा सरिक हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबार (१३ कात्तिकका दिन) महासचिव गुटेरस सोलुखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनको असरलाई बुझ्न उनी सोलुखुम्बुसम्म अवलोकनका लागि जान लागेका हुन् । सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरस ललितपुरस्थित यूएन हाउसको कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि उनी पोखरा उड्ने र राति पोखरामै बस्ने कार्यक्रम छ । कात्तिक १४ गते मंगलबार महासचिव गुटेरस पोखराबाट बिहान अन्नपूर्ण सर्किट अवलोकनपछि पोखरा फर्केर पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्नेछन् । त्यसपछि गौतम बुद्धको जन्मस्थल लुम्बिनीतर्फ लाग्नेछन् ।

लुम्बिनीबाट काठमाडौं फर्केर सोही दिन बेलुकी संघीय संसद्को दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय छ । त्यसपछि संसद्कै परिसरमा पत्रकार सम्मेलन गर्नेछन् । कात्तिक १५ गते बुधबार महासचिव गुटेरस नेपालको आफ्नो चारदिने भ्रमण पूरा गरी फर्कने कार्यक्रम रहेको छ । यसअघि सन् २००८ मा यूएनका तत्कालीन महासचिव बान कि मुनले नेपालको भ्रमण गरेका थिए । त्यसबेला पनि महासभामा भाग लिन जाँदा तत्कालीन प्रधानमन्त्री दाहालले नै मुनलाई निम्तो दिएका थिए । १५ वर्षपछि तेस्रोपटक प्रधानमन्त्री भएका दाहालले फेरि महासभामा महासचिव गुटेरसलाई पनि भ्रमणको निम्तो दिए । प्रधानमन्त्री दाहालको निमन्त्रणालाई सहज रूपमा स्वीकार गर्दै महासचिव गुटेरस नेपाल आउन आउन तयार भएका हुन् ।

भर्खरै शान्ति प्रक्रियामा आएको माओवादीको नेतृत्वमा सरकार गठन भएको थियो । त्यतिबेला तत्कालीन महासचिव मुनले नेपालको शान्ति प्रक्रिया र नेपालले संयुक्त राष्ट्रसंघ मातहत रहेर संसारका विभिन्न मुलुकमा गएर नेपाली सुरक्षाकर्मीले गरेको योगदान’bout चर्चा भएको थियो । मुनको त्यो नेपाल भ्रमण गौतमबुद्धको जन्मस्थान लुम्बिनीदेखि विश्वको उच्च शिखर सगरमाथासम्म रहेको थियो ।

योपटक संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको भ्रमण जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावको विषयमा अवलोकन गर्न उनी सोलखुम्बुको स्याङ्बोचे पुग्नेछन् । जलवायु परिवर्तनले त्यहाँको स्थानीयलाई पारेको प्रभाव र संकटको विषयमा बुझेर फर्कनेछन् । उनले दोस्रो हिमाल अन्नपूर्ण आधार शिविर पनि भ्रमण गर्नेछन् । उनले सो क्षेत्रमा पनि ग्लोबल वार्मिङले हिमाली शृंखलामा केकति असर पारेको छ भनी अवलोकन गर्नेछन् । जलवायु परिवर्तनले नेपालजस्तो अति कम विकसित मुलुकलाई कसरी असर परिरहेको छ भन्ने सन्देश प्रवाह हुन सक्नेछ । तापमान वृद्धिले हिमालमा हिउँ छिटो पग्लने, बाढी, पहिरो आउने क्रम बढिरहेको छ । जुन विषयलाई संसारभर सन्देश प्रवाह गर्न महासचिव गुटेरसको भूमिका महत्वपर्ण हुनेछ ।

नेपाल सरकारले महासचिव गुटेरसको भ्रमणका दौरान उनलाई र विश्वलाई नै दिन खोजेको अर्को सन्देश नेपालको आन्तरिक शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका विषय पनि रहेको छ  । संक्रमणकालीन न्याय टुंगोमा पुग्न नसकिरहेका बेला गत सेप्टेम्बरमा भएको यूएनको ७८औं महासभालाई सम्बोधन क्रममा संक्रमणकालीन न्यायको बाँकी काम पूरा गर्न तयार भएको सन्देश दिएका थिए ।

प्रधानमन्त्री दाहालले शान्ति प्रक्रिया टुंगोमा पु¥याउने चरणमा रहेको सन्देश दिएका थिए । पटकपटक विश्व समुदायले नेपालको शान्ति प्रक्रियाको विषयलाई लिएर प्रश्न उठाइरहेका बेला पीडितको सरोकारलाई सम्बोधन गर्नेगरी संक्रमणकालीन न्यायको प्रक्रियालाई टुंगोमा पु¥याउन संसदमा विधेयकसमेत पेस गरेको जानकारी दिएका थिए । तर, पीडितपक्ष भने अझै पनि सो विधेयकमा सन्तुष्टि भइरहेको अवस्था छैन ।

राजधानी दैनिक बाट