‘राष्ट्रिय स्वतन्त्र पार्टीमा सत्तालिप्सा देखियो’

नेपाली कांग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने बताएका छन्। र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा सत्तालिप्सा देखिएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकीर थियो। ‘नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहने संघीय संसद पाँच वर्ष अघिनै विघटन हुनसक्ने डर लागेको छ’, नेता पौडेलले भने।

उनले अगाडी थपे, ‘मलाई लाग्छ–आजको यो हंग पार्लियामेन्ट पनि केपी ओलीजी जस्ताको प्रवृत्तिको कारणले पाँच वर्ष नै टिक्न नसक्ने स्थितिमा पुग्छ कि भन्ने मलाई डर लाग्छ। नेपालको अस्थिरताको सबै भन्दा ठूलो कारक केपी ओली प्रवृत्ति हो। त्यस्तो खालको अहंकार संस्कारको रुपमा रुपान्तरित भयो भने, त्यो हाम्रो राजनीतिमा बलियो हुँदै गयोभने हामीले नेपालको लोकतन्त्रलाई विकसित गर्न सक्दैनौं।’

बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोप समेत लगाए।

नेता पौडेलले भने, ‘केपी शर्मा ओलीको अस्तीको सम्बोधनले संसदमा धेरै ठूलो अहंकार प्रस्तुत भएको छ। उहाँले मौका नपाउनु भएको होइन। उहाँले दुई तिहाईको सरकार ३ वर्ष संचालन गर्ने मौका पाउनु भयो। मलाई लाग्छ–आजसम्मको इतिहासमा उहाँको समयमा जति भ्रष्टाचार कहिल्यै मौलाएन। हामीले सम्झाई रहन पर्दैन। दुई तिहाईको समर्थन गरेको अत्यन्तै बलियो सरकार देशलाई केही पनि दिन नसकेर समस्या उत्पन्न गरेर विदा भयो। त्यो सरकारलाई हामीले ढालेको होइन। केपी ओलीजीको अहंकारले त्यो सरकार ढलेको हो।’

नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताए। ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाएपनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाई छ।

नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि जनाए। ‘मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अपनाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनको भनाइ थियो। सांसद पौडेलले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा छोटो समयमै सत्तालिप्सा देखियो । स्वार्थहरु टकराएको देखियो । फेरी पुरानै शैली अपनाउन खोजेको देखियो।’

नेता पौडेलले आफूलाई संसद ‘चुनावी सभा’ हो कि भन्ने आभास भईरहेको टिप्पणी समेत गरे। आफू पहिलो पटक संघीय संसदमा पुगेको उल्लेख गर्दै उनले त्यो ठाउँ संसद हो कि चुनावी सभा छुट्टयाउन गाह्रो भइरहेको बताए।

नेता पौडेलले संसदमा झुटो बोल्नु हुँदैन भन्ने हेक्का समेत सांसदहरुले राख्न नसकेको उल्लेख गरे। उनले संसदमा झूटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउन कुरालाई समेत हेक्का नराखि नेताहरुले बोल्ने गरेकोमा पनि आपत्ति जनाएका थिए।

‘म संसदमा पहिलो चोटी प्रवेश गरेको मान्छे। यो संसद होकि चुनावी सभा? छुट्टयाउन गाह्रो भईरहेको छ। कुनै तथ्यमा आधारित भएर बोल्नु पर्दैन। सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नु हुँदैन। यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ। क्षयीकरण हुनेछ भनेर कसैले महशुस गरेको देखिएन। एकले अर्कालाई गाली गर्ने, कुनै पनि मर्यादा कायम नगर्ने, म हुँदा ठिक हुन्छ। म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन। दम्भ प्रस्तुत गर्ने जुन खालको प्रवृत्ति देखिएको छ। यही संस्कारको विकास भयो भने लोकतन्त्र माथि ठूलै खतरा उत्पन्न हुने स्थिति छ’, उनले भने।