निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेका छन् ।

राजधानीको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको एनआरएनएहरुको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको हो ।

निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ । शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए । जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिवार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।

शनिबार केसी पक्षधरहरूबाहेकको बैठकले ११ औँ विश्व सम्मेलन सकेर नयाँ कमिटी घोषणा गर्ने तय भएको हो । जसअनुसार आर्थिकसहित पारित गर्नुपर्ने प्रतिवेदनहरु पारित गरेर नयाँ कमिटी घोषणा हुनेछ । नयाँ कमिटीलाई १० औँ महाधिवेशनबाट चयन भएका कुल आचार्य र रबिना थापाको पनि समर्थन रहेको दाबी गरिएको छ ।