काठमाडौं महानगरपालिकाले यस पटक कक्षा ११ मा उपलब्ध गराएको पूर्ण छात्रवृत्तिमा समेत निजी विद्यालयहरुले विभिन्न शीर्षकमा बलजफ्ती शुल्क उठाउँदै आएको खुलेको छ।

महानगरको शिक्षा विभागमा निजी विद्यालयहरुले छात्रवृत्तिको विद्यार्थीसँग पनि मनोमानी ढंगबाट शुल्क असुली गरेको उजुरी महानगर शिक्षा विभागमा परेपछि विभागले अनुगमन टोली नै गठन गरी निजी विद्यालयको शुल्क अनुगमन गरेको विभागका निजी अधिकृत मोति भट्टराईले बताए।

अनुगमनका क्रममा निजी विद्यालयहरुले छात्रवृत्ति विद्यार्थीसँग विभिन्न शीर्षकमा मासिक दश हजार रुपियाँसम्म शुल्क असुली गरेको पाइएको उनले जनाए।

टोलीले तीन दिनसम्म काठमाडौंको गोल्डेनगेट, ग्लोबल, सिफल सेकेण्डरी स्कुल, काठमाडौं मोडेल कलेज, एभरेष्ट फ्लोरिडा, सिसिआरसी लगायतका स्कुलमा शुल्क अनुगमन गरेको र यी स्कुलहरुकै उजुरी पनि परेको उनले जनाए।

‘विभागले छात्रवृत्ति विद्यार्थीसँग परीक्षा, अतिरिक्त क्रियाकलाप, यातायात र शैक्षिक भ्रमणको शीर्षक बाहेक कुनै पनि शुल्क लिन नहुने व्यवस्था गरेको छ,’ अधिकृत भट्टराईले भने ‘तर अनुगमन टोलीको अनुगमनले विद्यालयहरुले शुल्क लिन पाउने शिर्षकमानै विभिन्न निहुँ गरी शुल्क लिएको पाइयो।’ उनले थपे ‘विभागले काराबाही स्वरूप स्कुलहरुसँग स्पष्टीकरण सोधेको छ। विद्यालयले असुलेको शुल्क फिर्ता गराउने काम भएको छ।’

शिक्षा ऐन अनुसार निजी विद्यालयहरुले विद्यार्थी भर्नाको दश प्रतिशत निःशुल्क छात्रवृत्ति अनिवार्य उपलब्ध गराउने व्यवस्थालाई विगत देखिनै कार्यान्वयनमा आनाकानी गर्दै आएका थिए।

‘चालु शैक्षिक सत्रदेखि महानगरले आफैले छात्रवृत्ति को परीक्षा संचालन गरी विद्यार्थी छनौट गरी विद्यालयमा पठाउँदा पारदर्शिता कायम भएको छ,’ उनले भने ‘यो वर्ष महानगरको पहलले महानगरभित्रका कुल ५ सय ४ निजी विद्यालयले कक्षा ११ मा अध्ययनरत ५ हजार विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराएका छन्।’

यति मात्र होइन यो वर्ष महानगरले निजी विद्यालयमा अध्ययनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीले पनि दश प्रतिशत छात्रवृत्ति दिएका छन्। शिक्षा विभाग संस्थागत शाखा प्रमुख नेत्रनारायण पौडलले विद्यार्थीको उजुरीको आधारमै विद्यालयहरुमा अनुगमन कार्य अघि बढाएको र यो निरन्तर हुने बताए।

‘छात्रवृत्तिको विद्यार्थीसँग २५ हजारसम्म शुल्क लिएको गुनासो आएको छ,’ प्रमुख पौडेलले भने ‘विभागले अनुगमन गरी दोषी पाइएका विद्यालयहरुलाई शुल्क फिर्ता गराउने काम पनि गरिरहेको छ।

यति मात्र होइन अहिले कक्षा ११ को आन्तरिक परीक्षामा समेत विद्यार्थीलाई सहजै सहभागी गराउने वातावरण बनेको छ। यस अघि पैसा नतिरे स्कुलहरुले परीक्षामा सहभागिता नगराउने समेत विद्यार्थीको गुनासो थियो।’

अधिकृत भट्टराईका अनुसार कक्षा १ देखि दशसम्मका यो वर्ष दश हजार विद्यार्थीले निजी विद्यालयमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न पाएको तथ्याङ्क छ।

‘यस पटक विभागले निजी विद्यालयहरुसँग कक्षा १० सम्मका बालबालिकाको छात्रवृत्तिको सूचि नै माग गरी सार्वजनिक गराउने काम गरेको छ,’ उनले भने ‘विद्यालयहरुले विद्यार्थीको नामसहितको सूचि तयार पारि विभागमा इमेल गरेका छन्।’

विगतमा विद्यालय तहमा निजी विद्यालयहरुले कक्षा १ देखि दशसम्मका विद्यार्थीलाई खासै छात्रवृत्ति उपलब्ध गराएका थिएनन्। कुनै स्कुलले दिए पनि एकाध विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर झारा टार्ने काम मात्र गरेका थिए। पारदर्शिता थिएन। यस पटक मेयर बालेन साहले विद्यालय स्तरमा छात्रवृत्ति कसिकसाउ गरेपछि लक्षित वर्गले छात्रवृत्ति पाएको उनको दाबी छ।

नागरिक दैनिक बाट