हमास समूहले इजरायलमा गरेको आक्रमणपछिको अवस्था कठीन बनेको छ। हजारौँ रकेट र फाइटरहरूको सहायतामा जमिन, समुन्द्र र आकाशबाट दक्षिणी इजरायलमा आक्रमण गरिएको थियो। यति ठूलो स्तरमा आक्रमण भए पनि यो अनपेक्षित थियो र सशक्त मानिएको इजरायलको खुफिया निकायलाई यो लज्जास्पद प्रहार मानिएको छ। तर सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने निर्दाेष मानिसको मृत्य भएको छ र कैयन्लाई अपहरण गरिएको छ। यो आक्रमणलाई कसरी प्रतिकार गर्ने भन्नेमा इजरायलको सुरक्षा बल (आइडिएफ) जुटेको छ भने यो घटनाक्रमले नित्याउने संकटलाई लिएर समग्र विश्व चिन्तित बनेको छ।

आगामी साताहरूमा यो घटनाक्रमको विकास कसरी होला भनेर अहिल्यै भनिहाल्न सकिने अवस्था छैन। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो आक्रमणका लागि हमासले ‘चर्काे मूल्य’ चुकाउनुपर्ने बताएका छन्।

एक संगीत महोत्सवमा २५० जनाको हत्या गरिएको यो हत्याको बदला लिने हिसाबले उनी सही पनि छन्। तर प्रतिकारको मूल्य पनि उत्तिकै जोखिमपूर्ण छ। गाजामा जमिनबाट गरिने आक्रमणले रक्तिम सहरी युद्ध निम्तिने देखिएको छ र यसले अपहरणमा परेकाको ज्यान पनि संकटमा पर्ने देखिन्छ। यसैगरी यो युद्ध जति लामो भयो, त्यति नै पश्चिमी किनारा र लेबनानमा ठूलो हिंसा भड्किने देखिन्छ।

गाजापट्टीमा ठूलो मात्रामा सर्वसाधारणको मृत्यु भएको खण्डमा इजरायललाई हेर्ने विश्व दृष्टिकोणमा समेत हानि पुग्नेछ र यो कदम आफैंमा गलत हुनेछ।

अपहरणमा परेका इजरायलीको सुरक्षा सबैभन्दा ठूलो चिन्ताको विषय हो। उता, अकस्मात हमास समूहले गरेको आक्रमण र यसले गरेको क्षतिका कारण इजरायल घाइते भएको छ।

पछिल्लो दशकमा प्यालेस्टाइनको सार्वभौमसत्ताको चाहनालाई इजरायली सर्वसाधारणले पनि समर्थन गर्न सक्ने विश्वास गरिएकामा यो आक्रमणले त्यसलाई झन किनारामा पुर्‍याएको देखिन्छ। यो मामलामा मध्यपूर्वका अन्य राष्ट्रले एक मत भएर इजरायललाई दबाब पनि दिँदै आएका हुन तर पछिल्लो द्वन्द्वले इजरायल र प्यालेस्टाइन कसरी शान्तिपूर्वक रहन सक्छन् भन्ने प्रश्न उब्जिएको छ।

इजरायलका प्रधानमन्त्री नेतान्याहुले तीन कारणले प्यालेस्टाइनलाई किनारा लगाउन सकिने ठानेका थिए तर हमासको आक्रमणले उनी गलत सावित भएका छन्। उनको पहिलो तर्कअनुसार प्यालेस्टाइनको प्रश्न विस्तारै सैलाउँदै र भित्रभित्रै कुहिँदै जाँदा इजरायल सुरक्षित रहन्छ भन्ने थियो। सन् २००५ मा अन्त भएको दोस्रो इन्टिफादा (विद्रोह) मा भएको हारका कारण प्यालेस्टाइनको जनसंख्यालाई इजरायलले बलियो सुरक्षा पहराबाहिर पुर्‍याएको थियो।

उच्चतम खुफिया शक्ति, रकेट प्रहारलाई समेत निस्तेज गर्ने क्षमता तथा सामरिक शक्तिका अगाडि प्यालेस्टाइनी आक्रमणलाई व्यवस्थापन गर्न सकिने आकलन इजरायलको थियो। यो सोचको अब अन्त भएको छ। पश्चिम किनारामा शक्ति विस्तार गर्ने इजरायली अतिवादीको चाहनाले गाजामा आवश्यक मात्रामा ध्यान नभएको मानिएको छ।

दक्षिणी लेवनानमा इरानले आपूर्ति गरेको हातहतियारको कारण हजिबुल्लाहसँग यथेष्ट हातहतियार छन्। हो, इजरायलले प्यालेस्टाइनविरुद्ध सैनिक प्रभुत्व पुनस्र्थापना गर्न सक्छ र यसमा सैनिक र गुप्तचर निकाय पनि ढुक्क देखिन्छन्। तर इजरायलका मतदाताहरू पूर्ववत् अवस्थामा फर्केर मात्र नहुने निष्कर्षमा पुग्न सक्छन्।

यसैगरी नेतान्याहुको दोस्रो अवधारणा के थियो भने पश्चिमी किनारामा सत्तामा रहेको प्यालेस्टाइनको पार्टी फताहको कारणले हमास अस्तित्वमा रहिरहनु इजरायलका लागि फाइदाजनक हुनेछ। यसरी ‘फुटाऊ अनि राज गर’ भन्ने अवधारणाले प्यालेस्टाइन कमजोर हुने ठानिएको थियो।

यसैगरी उग्रवादी स–साना समूहका गतिविधिका कारण शान्तिका लागि सक्रिय प्रमुख शक्तिको विश्वसनीयतामा प्रश्नचिह्न उठ्ने र यसले इजरायललाई फाइदा नै हुने मानिएको थियो।

यो आक्रमणपछि यो अवधारणा पनि असत्य सावित भएको छ। इजरायलको ‘फुटाऊ र राज गर’ भन्ने रणनीतिका कारण फताह र यसका नेता मोहम्मद अब्बास कमजोर भएको अवस्थामा यो आक्रमणले आफूहरूप्रति जनविश्वास बढ्ने हमासको ठम्याइ छ। प्यालेस्टाइनको आवाजलाई मुखरित गर्न आफ्नो समूह सफल रहेको प्रमाणित गर्ने हमासको चाहना छ।

इजरायलका प्रधानमन्त्रीको तेस्रो अवधारणा भनेको मध्यपूर्वमा क्षेत्रीय रणनीति अख्तियार गरेर आफ्नो उपस्थिती सशक्त पार्ने र प्यालेस्टाइनको प्रश्नलाई कमजोर पार्ने थियो। बहराइन, संयुक्त अरब इमिरेट्स, मोरक्को र सुडानसँग अब्राहम सम्झौता गरेर यो दिशामा इजरायल अगाडि बढेको थियो।

गत साताको अन्तसम्ममा यो सम्झौतामा साउदी अरेबियाले हस्ताक्षर गर्ने विश्वास इजरायलको थियो। यो सम्झौता अझै पनि हुन सक्छ तर यो आक्रमणबाट हमासले प्रष्ट सन्देश दिएको छ, हाम्रो पनि भनाइ सुनिनुपर्छ। अबका दिनमा हमासविरुद्ध गरिने कारबाहीले हमासलाई हेर्ने नयाँ दृष्टिकोण अवलम्बन गर्नुपर्न मागलाई बल पुग्नेछ।

शनिबारको आक्रमणपछि, गाजामा शक्तिमा रहन मात्र हमासलाई नोक्सानी पुर्‍याउने इजरायलको चाहना हुनु हुँदैन। यसका लागि सामान्य विकल्पले मात्र पुग्दैन। इजरायली सुरक्षा बल (आइडिएफ) ले गाजामा नियन्त्रण लिन चाहेको छैन, त्यसैले उसले यो क्षेत्रलाई आफैँ स्वशासित हुन दिएको छ।

यो क्षेत्रमा अन्तर्राष्ट्रिय शान्ति सेना परिचालन गर्ने विकल्प पनि देखिँदैन किनभने कुनै पनि देश यसको जिम्मेवारी लिन चाहँदैनन्। तर यसो हुँदा हुँदै पनि गाजामा इजरायली सैनिकले हमासलाई नष्ट गरेर पुनः फर्केको अवस्थामा त्यहाँ सिर्जना भएको नयाँ परिस्थितिमा झन विध्वंशक शक्तिको उदय हुन सक्छ।

अबका दिनमा आइपर्न सक्ने चुनौतीलाई कम आकलन गर्न मिल्दैन। दोस्रो इन्टिफादापछि इजरायलका युवाहरूमा प्यालेस्टाइनसँग कुनै वार्तालाप हुनु हुँदैन भन्ने धारणाको विकास भएको थियो।

पछिल्लो आक्रमणले यी दुई देश शान्तिका सहयात्री हुन सक्छन् भन्ने विश्वासमा प्रश्न उठेको छ र इजरायलको नयाँ पिँढीले यही अवधारणालाई आत्मसात गर्ने देखिन्छ। सँगसँगै, इजरायलको अतिवादी समूहले पश्चिमी किनाराको भूभागमा आक्रमण गर्न चाहेको छ। नयाँ परिस्थितिमा उसले यो प्रयासलाई दुगुणा पार्नेछ।

जे/जसो भए पनि, इजरायलीहरूले प्यालेस्टाइनको प्रश्नलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विचार पुर्‍याउन आवश्यक छ। इजरायलको सुरक्षा बललाई आगामी दिनमा सहकार्य गर्न प्यालेस्टाइनमा एक शक्तिको आवश्यक रहन्छ। यसको अर्थ उसलाई प्यालेस्टाइनमा एक मध्यस्थकर्ताको खाँचो पर्नेछ।

आगामी दिनमा जेरुसेलममा कसको सत्ता हुनेछ भन्ने विषयले आगामी बाटो कस्तो हुनेछ भन्ने कुराको निक्र्योल हुनेछ। तत्कालका लागि पुनः उठ्न र एकबद्ध हुने चाहना इजरायलको हुनेछ तर भविष्यमा एक नयाँ गठबन्धन र नयाँ प्रधानमन्त्रीको समेत आवश्यकता पर्न सक्छ। इजरायल सुरक्षित रहन प्यालेस्टाइन समस्यालाई यसै छिचोल्न सकिन्छ भन्ने ठान्नु हुँदैन। बरु उनीहरूसँग पनि सहकार्य गर्न सकिन्छ भन्ने धारणाका साथ बढ्न आवश्यक छ।

-दि इकोनोमिस्ट