काठमाडौं । आपसी मिलेमतोमा स्वार्थ समूहले सर्वसाधारणलाई झुक्याउँदै डुब्न डुब्न लागेको कम्पनीको प्रिमियम शुल्कमा अधिक मूल्य राखेर जारी गरेको घोराही सिमेन्टको धितोपत्र बजारमा कारोबारमा आएसँगै मूल्य घट्ने क्रम सुरु भएको छ ।

घोराही सिमेन्टको सेयर मूल्य आईपीओभन्दा सस्तियो

आईपीओमा स्थानीय बासिन्दाले पनि नपट्याएको घोराही सिमेन्टको प्रिमियम मूल्यको आईपीओभन्दा पनि कम मूल्यमा कारोबार हुन थालेपछि सर्वसाधारणले ठगिएको आभास पुनः गर्न थालेका छन् ।

प्रिमियम मूल्यमा सर्वसाधारणलाई जारी गर्दा नै लुप होल प्रयोग गरी धितोपत्र बोर्डसम्मलाई छक्याउन सफल भएको घोराहीको मूल्य बिहीबार ४ सय ३० रुपैयाँसम्ममा झरेको थियो । ४ सय ३५ मूल्यमा आईपीओ जारी भएको घोराहीको मूल्य बिहीबार बजार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको छ । ४ सय ३९ रुपैयाँमा बिहान कारोबार भएको घोराहीको मूल्य ४ सय ३० सम्म घट्दै कारोबार बन्द हुँदासम्ममा ४ सय ३४ मा आएको हो ।

बिहीबार कम्पनीको सेयर मूल्य शून्य दशमलव ९६ प्रतिशत अर्थात् ४ दशमलव २० रुपैयाँ घटेको छ । बिहीबार दिनभरिमा कम्पनीको ४४ हजार १ सय ४८ कित्ता सेयर १ हजार १ सय ९१ पटक खरिद बिक्री हुँदा १ करोड ९२ लाख ६५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आईपीओ बिक्री गर्दादेखि चलखेल गरी सर्वसाधारणको करोडौं रुपैयाँ असुलेको घोराही सिमेन्टले सेयर बजारमा कारोबारमा आएदेखि पनि चलखेल गर्दै अधिकतम प्रतिकित्ता ५८१.४० रुपैयाँसम्म पु¥याएको आरोप लगाइएको छ ।

सुरुमा मूल्य बढाएर कर्नरिङ गरिएकोमा अहिले भने मूल्य घट्न थालेको छ । सेयर बजार विश्लेषक घोराही सिमेन्टको अवस्था नाजुक भएकाले यसको मूल्य अझै घट्दै जाने बताउँछन् ।

गत साउन २५ गते आईपीओमा सूचीकृृत भएर कारोबार सुरु भएको कम्पनी २ महिनामा नै साइजमा आउन थालेको हो ।

घोराही सिमेन्टको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ९७ लाख १९ हजार ६ कित्ता सेयर सूचीकृत भएपछि यसको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता २२६.६१ रुपैयाँदेखि ६७९.८३ कित्तासम्म ओपनिङ रेन्ज तोकेको थियो ।

घोराही सिमेन्टको पहिलो कारोबार दिन ५ सय ६५ रुपैयाँ ५० पैसामा कारोबार खुला भएर दिनभरिमा ५ सय ८१ रुपैयाँ ४० पैसासम्मको उच्च मूल्यमा कारोबार गरेको थियो । सेयर मूल्य घट्दै जाँदा अन्तिम कारोबार हुँदा भने ५ सय ९ रुपैयाँमा पहिलो दिनको कारोबार बन्द भएको थियो ।

कारोबार सुरु भएको ४०औं कारोबार दिनमा घोराही सिमेन्टको मूल्य प्रिमियम आईपीओ निष्कासनको दरभन्दा तल झरेको र यो क्रम निरन्तर चल्ने ठम्याइ बजार विश्लेषकको छ ।

शिवम् सिमेन्ट कुल चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कुल सूचीकृत ४ करोड ४० लाख कित्ता सेयरमा ३ करोड ८७ लाख २० हजार कित्ता सेयर संस्थापक छ भने बाँकी ५२ लाख ८० हजार कित्ता साधारण सेयर छ । कम्पनीले आईपीओ जारी गरेको तीन वर्ष पुगिसकेकाले संस्थापक सेयरको समेत लकइन पिरेड खुलिसकेकाले कम्पनीको सेयरमा बढी आपूर्ति हुने र यसमा कर्नरिङ हुने आशंका यसअघि नै गरिएको थियो । बजार घटाउन वा बढाउन दुई वा दुईभन्दा बढी मिलेर खरिद बिक्री गर्ने अनि मिलेर मूल्य घटाउने वा बढाउने कामलाई कर्नरिङ भनिन्छ ।

घोराही सिमेन्टको आईपीओमा फर्जी खरिदकर्ता पैदा गरेर चलखेल भएपछि धितोपत्र बोर्डले आईपीओ स्थगन गरिदिएको थियो ।

केही समय अनुसन्धान गरेको देखाउँदै बोर्डले तीन दिन मौका दिनू भनेर दिएको निर्देशन घोराहीले सार्वजनिक बिदाको दिन पारेर पैसा फिर्ता लिन शुक्रबार सार्वजनिक सूचना निकालेर सर्वसाधारणले पैसा फिर्ता लिनबाटै वञ्चित गराइ आईपीओ भिडाइएको थियो ।

शनिबार सार्वजनिक बिदा परेको दिनमा त्यो पनि बैंकमा नै गएर पैसा फिर्ता लिनुपर्ने झन्झटिलो प्रावधान राखेर घोराहीले सर्वसाधारणको पैसा ट्रयापमा पारेको थियो ।

डुब्न स्थितिमा रहेको घोराही सिमेन्ट कम्पनीलाई उकास्न शंकास्पद रेटिङ गरेको कम्पनी केयर रेटिङ नेपाल लिमिटेडमाथि कुनै छानबिन नगरी घोराहीलाई आईपीओ निष्कासन प्रकरणमा उन्मुक्ति दिइएको थियो ।

कम्पनीको वित्तीय विवरण नै शंकास्पद रहेको र त्यही शंकास्पद विवरण आधार मानेर आफ्नै लगानी रहेको केयर रेटिङ नेपालबाट रेटिङ गराएको र दोस्रो बजारमा आईपीओ मूल्यभन्दा पनि कम दरमा आउन थालेको घोराही सिमेन्टबाट सर्वसाधारणको २ अर्ब डुब्ने लगभग पक्कापक्की भइसकेको छ । विवादको घेरामा र स्वार्थ समूहको चंगुलमा फसेको घोराही सिमेन्टको मूल्य प्रिमियम मूल्यभन्दा आधा घट्ने आंकलन गरिएको छ ।

आईपीओ जारी गर्दा केयर रेटिङ नेपालले घोराही सिमेन्टको रेटिङ गरेको थियो ।

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता ४ सय ३५ रुपैयाँ मूल्यमा ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

आईपीओ बिक्री अवधि असार ४ गतेभित्रै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले बिक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेपछि यसलाई छानबिनको घेरामा ल्याइएको थियो ।

विवरणपत्र नै भ्रामक र जोखिमपूर्ण रहेको घोराहीको आईपीओलाई उनकै कर्मचारीले पनि विश्वास गरेको थिएन । जसले गर्दा स्थानीय बासिन्दा, कर्मचारी र वैदेशिक रोजगारमा गएकालाई छुट्याएको सेयर बिक्री गर्न घोराहीलाई हम्मेहम्मे परेको थियो ।

बिक्री हुन नसकेको सेयरलाई सर्वसाधारणको कित्तामा थपेर घोराहीले बिक्री गर्दा फर्जी खरिदकर्ता पैदा गरिएको थियो ।

विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्टको आईपीओलाई स्थानीयबासीले बहिष्कारजस्तै गरेका थिए । घोराही सिमेन्टले वातावरण प्रदूषण गरेको भन्दै स्थानीयबासी अदालतसम्म पुगेका कारण स्थानीयले आइपीओ किनेका थिएनन् ।

घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट नापतौल तथा गुणस्तर विभागमा परीक्षण गर्दा कैफियत देखिएकाले जिल्ला प्रशासन कार्यालय बर्दियाले यसअघि नै बिक्री वितरणमा रोक लगाएको थियो ।

घोराही सिमेन्ट इन्डस्ट्रिज र एनआईसी एसिया बैंकका सञ्चालक एउटै समूह, एकै परिवारका सदस्य र एकै व्यक्ति भएकाले दिग्भ्रमित पार्ने षड्यन्त्रमा संलग्न भएको बताइएको थियो ।

घोराही सिमेन्टका लगानीकर्ताद्वय विशाल समूह र त्रिवेणी समूहको एनआईसी एसिया बैंकमा करिब ४० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनआईसी एसिया बैंकको मुख्य सेयरधनीमा विशाल र त्रिवेणी (सांघाई) समूहका सदस्यहरू छन् । जसको घोराही सिमेन्टमा अधिकांश सेयर स्वामित्व छ ।

एनआईसी एसिया बैंकमा व्यावसायिक घराना विशाल समूहका सदस्यको कम्तीमा २६ प्रतिशत सेयर स्वामित्व छ । त्यसैगरी, सांघाई समूहका सदस्यको १३ प्रतिशत सेयर लगानी छ । उता घोराही सिमेन्टमा विशाल समूहसम्बद्ध लगानीकर्ताको कुल २१ दशमलव ३४ प्रतिशत सेयर लगानी रहेको छ । विशाल समूहका उपाध्यक्ष त्रिलोकचन्द्र अग्रवाल घोराही सिमेन्ट कम्पनीका सञ्चालक समितिमै छन् ।

त्यसैगरी, सांघाई समूहका रामचन्द्र सांघाई, गोविन्दलाल सांघाई, वीरेन्द्र सांघाई, सुभासचन्द्र सांघाईको सिमेन्ट कम्पनी र एनआईसी एसिया बैंकमा सेयर रहेको छ ।

घोराही सिमेन्टको आईपीओ निष्कासनमा केयर रेटिङस कम्पनीलाई पनि शंकाको दृष्टिकोणले हेरिएको थियो ।

केयर रेटिंसमा विशाल समूहको कम्तीमा १९ प्रतिशत सेयर लगानी रहेकाले शंकाको दृष्टिले हेरिएको थियो ।

दाङको घोराही उपमहानगरपालिका–४ मा रहेको घोराही सिमन्ट उद्योग मानवबस्तीबीच रहेको छ । उच्च अदालत दाङले समेत उद्योगलाई वातावरण प्रदूषण हटाउन र वातावरण विभागले तय गरेका मापदण्ड पालना गर्दै तोकिएका उपकरण जडान गर्न आदेश दिएको थियो । तर, अदालतको आदेश र स्थानीयबासीको मागलाई उद्योगले बेवास्ता गर्दै आएको स्थानीयबासीको आरोप छ ।

वातावरण तथा मानव स्वास्थ्यमा प्रतिकूल असर गम्भीर रूपमा परेको र पानीको मूलसमेत सुक्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।

राजधानी दैनिक बाट