काठमाडौं । एसियाली खेलकुदमा नेपालले पहिलोपटक करातेबाट रजत पदक जितेको छ । नेपालले अहिलेसम्म एसियाली खेलकुदमा तीनवटा रजतपदक जितेको छ । जसमध्ये चीनको होङझाउमा जारी १९औं एसियाली खेलकुदमा नेपालकी एरिका गुरुङले करातेमा ऐतिहासिक रजत पदक नेपाललाई दिलाउन सफल भएकी हुन् । उनी १०औं विश्व सितोरियो करातेकी स्वर्णपदक विजेता खेलाडी भएको र उनले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको नेपाल कराते महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव युवराज लामाले बताए । ६८ केजी तौल समूहको फाइनल प्रतिस्पर्धामा उनले जित हासिल गरेको खण्डमा नेपाललाई पहिलो स्वर्णपदक दिलाउने खेलाडी बन्ने थिइन् ।

उनलाई काजकिस्तानकी बेरुल्टसेवा सोफियाले ३–० ले पराजित गरे पछि उनी रजतमा सीमित भएकी हुन् । नेपालले अहिलेसम्म एसियन गेम्समा स्वर्ण जितेका छैनन । फाइनलमा उनी बढी रक्षात्मक भएका कारण उनले स्कोर बटुल्न भने सकिनन् । एसियाडमा नेपाललाई पहिलो रजतपदक तेक्वान्दोकी सविता राजभण्डारीले दिलाएकी थिइन् । १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा उनले रजत जितपछि २०१८ को जकार्ता एसियाडमा प्यराग्लाइडिङमा टिमतर्फ रजतपदक प्राप्त भएको हो । प्याराग्लाइडिङ क्रसकन्ट्री टिममा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा रहेका थिए । त्यसपछि अहिले करातेकी एरिकाले नेपालका लागि ऐतिहासिक पदक दिलाइन् । कुनै समय नेपाल मार्सल आर्टको दक्षिण एसियाको पावर हाउसका रूपमा रहेको थियो । पछिल्लो समय मार्सल आर्ट कमजोर बन्दै गएको छ । एरिकाले जितेको यो पदकले मार्सलआर्ट खेलमा प्राण भर्न सफल भएको छ । अहिलेसम्म नेपालले १९औं एसियाली खेलकुदमा एक रजत र एक कास्यपदक जितेको छ । महिला कवड्डीतर्फ नेपालले कास्यपदक जितेको हो ।

एरिकाले सेमिफाइलनमा हङकङकी यान काई होलाई ८–४ अंकको अन्तरले गराउँदै फाइनलको यात्रा तय गरेकी थिइन् भने क्वार्टरफाइलनमा उनले जापानकी युजुकी सावाएलाई १–१ को खेल खेले पनि पहिले अंक जोडेका आधारमा जित निकालेकी थिइन् । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठले अभ्यास राम्रो भएकाले रजत पदक हात पार्न सफल भएको बताए । ‘विश्वका नम्बर एक खेलाडीलाई दबाबमा राखेर खेलिन् । यसले हाम्रो खेलाडी क्षमतावान् छन् भन्ने प्रमाणित भएको छ,’ प्रशिक्षक श्रेष्ठले भनेका छन् । नेपाली टोली जाकार्तामा लामो प्रशिक्षण लिएको श्रेष्ठले बताए ।

नेपालले एसियाडमा अहिलेसम्म नेपालले जम्मा २६ पदक जितेको छ । जसमा यसपटक अहिलेसम्म दुईवटा पदक जितेको हो । जसमा कवड्डीमा पहिलोपटक पदक जितेको हो । नेपालले १७ वर्षपछि एसियाडको एउटै संस्करणमा एकभन्दा बढी पदक जितेको हो । सन् २०१० देखि नेपालले प्रत्येक एसियाडमा १÷१ कास्यपदक मात्र जितेको थियो । नेपालले एसियाली खेलकुदमा सहभागी भएपछि बक्सिङमा अहिलेसम्म ६ वटा कास्यपदक जितेको छ । तेक्वान्दोमा सर्वाधिक १२ वटा कास्यपदक जितेको छ । करातेमा १ रजत ३ वटा कास्यपदक जितेको छ । करातेमा कास्यपदक जितेका अन्य खेलाडी सीताकुमारी राईले (१९९४), सम्बरबहादुर गोले (१९९८), विमला तामाङ (२०१४) हुन् । सन् १९८६ मा नेपालले बक्सिङ र तेक्वान्दोबाट एकैपटक ८ वटा कास्यपदक जितेको थियो । यसपटक पनि यति धेरै पदक प्राप्त गर्न सम्भावना छैन ।

पदक तालिकाको वरीयतामा नेपाल ३३औं स्थानमा छ । ओमन, बंगलादेश, इराक, बुरनाइ दारुसलाम पनि समान पदकसहित ३३औं स्थानमा नै रहेका छन् ।

दक्षिण एसियाली राष्ट्रलाई हेर्ने हो भने भारतले अहिलेसम्म सर्वाधिक पदक जितेको छ । उसले २८ स्वर्ण, ३६ रजत र ४१ कास्य गरी कुल १०५ पदक जितेको छ । चौथो स्थानमा भारत रहेको छ । त्यसपछि श्रीलंका रहेको छ । श्रीलंकाले १ स्वर्ण, २ रजत र २ कास्य गरी कुल ५ पदक जितेको छ । ऊ २७औं स्थानमा छ । अफगानिस्तानले पनि १ रजत र ४ कास्य जितेको छ । पाकिस्तानले १ रजत २ कास्य जितेको छ । माल्दिभ्स र भुटानले अहिलेसम्म पदक जितेका छैनन् ।