बझाङ । थलारा गाउँपालिका वडा नम्बर ९ का हंसुबहादुर लुहार गाउँ–गाँउमा गएर आरनको काम गरी जीविका चलादै आएका थिए । यसरी जीविका चलाउन धौ धौ हुने भएपछि उनी बेला–बेला भारतका विभिन्न शहरमा मजदुरी गरेर छोराछोरीलाई पढाई र घरायसी खर्चकाे जोहो गर्दै आएका थिए ।

२०७९ कार्तिक २३ गते गएको भुकम्पका कारण उनको घर आंसिक क्षति भयो । त्यति बेला उनी मजदुरीको काम गर्न भारत गएका थिए । छोरा छोरीको विचल्ली हुने भएपछि उनी घर फर्किएर र जोखीममा परेको घर टालटुल गरेर बस्न थाले । त्यो पिडा विर्सन नपाउदै सदरमुकाम चैनपुर केन्द्र बनाएर ६ दशमलव ३ रेक्टर स्केलको भुकम्पले उनको घर पुर्ण रुपमा क्षति भयो ।

अहिले उनी सहित उनका ४ जना छोराछोरी श्रीमती त्रिपाल मुनिको बास भएको छ । लुहारले भने ‘गाउँ–गाउँबाट आरनको काम गरेर जम्मा गरेको अन्नपानी (खाद्यन्न), लत्ताकपडा घर भित्रै च्यापियो । अहिले एक छाकको जोहो गर्न पनी धौ–धौ छ । बाहिर खुल्ला आकाश मुनिको बास छ । छोराछोरीको चिन्ता एकतर्फ छ भने रातीको समयमा के विच्छ्याउने ? के ओड्ने ? साह्रै समस्या भएको छ ।’ उनका लागि अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको दुखेसो पोखेका छन् ।

उनि मात्रै होईन थलारा गाउँपालिका–९ सिरेटाकी प्रजना थापाले बच्चा पाएको ६ महिना भयो । उनको पनि खुल्ला आकाश मुनिको बास छ । उनलाई आफ्नो भन्दा आफ्नो ६ महिनाको बच्चाको चिन्ता छ । उनका ससुरा नरबहादुर थापा भन्छन् ‘भर्खर भएको नातीलाई खुल्ला आकाश मुनि बसाल्दा निकै समस्या छ । युवा पुरुष भन्दा भर्खरका बालबालिका र बृद्धबृद्धाहरुलाई समस्या भएको उनले बताए ।’

थलारा गाउँपालिका–९ आमबरकी एकल महिला मुलु देवि दमाईको पनि कन्तविजोक छ । भएको सानो झोपडी भुकम्पले तहशनहश पारी दिएपछी उनलाई कसरी रात विताउने भन्ने चिन्ताले पिरोलेको छ । उनि भन्छिन् “घरमा कोही पनि छैन । सम्पत्तीको नाममा एउटै झोपडी थियो । त्यो पनि भु्कम्पले तहशनहश पारी दियो अहिले छिमेकीहरुबाट स–साना पालका टुक्रा संकलन गरेर टहरो बनाएकी छु । सानो पाल र एक छाक खानको जोहो कसैले गरी दिए वा आफुले पाए तत्काललाई ठुलो राहत हुन्थ्यो । अहिलेसम्म कसैले हेरेका छैनन् ।

यस्तै सिरेटाका हिरा सार्कीको पनि अवस्था उस्तै छ । उनको घरमा ३ जना छोरा छोरी र २ बुढाबुढी छन् । भारतका विभिन्न शहरमा मजदुरी गरेर जीविका चलाउदै आएका हिरा घर आएको ५ महिना मात्रै भयो । गत मंगलबार गएको भुकम्पले घरनै पुर्णरुपमा क्षति भएपछी अहिले उनका छोराछोरी सहित उनका अन्य आफन्त र छिमेकीहरुको पनि खुल्ला आकासमुनीको वोसोबास छ । उनि भन्छन् ‘छोरी १४।१५ बर्षकी भईन् । शौच गर्नका लागी शौचालय पनि भत्किएको छ ।

खुल्ला ठाउँ रातीको समय थरीथरीका मानिसहरुको बसोबास छ । फेरी गाउँघरमा मदिराले मात्तीएकाहरुको हुलहाल बढी हुन्छ । यस्तो समयमा हामी पुरुष भन्दा मेरो छोरी जस्तै अरुको छोरी बुहारीलाई बढी समस्या हुन्छकी भन्ने चिन्ताले पिरोली रहन्छ । जसका कारण भुकम्प आए देखी एक पटक सुत्न पनि नपाएको गुनसो उनले पोखे’ । उसो त सिरेटामा मात्रै करनबहादुर सिहं, मोहन जैशी, ज्ञानबहादुर नेपाल लगायत दर्जन भन्दा बढी ब्याक्तीका घर पुर्ण रुपमा क्षती भएका छन् ।

वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्रबहादुर विष्टका अनुसार थलारा गाउँपालिका वडा नम्बर ९ मा मात्रै १ सय ३० घर पुर्ण रुपमा क्षती, २ सय ७५ उच्च जोखीममा १ सय २ घर सामान्य रहेको बताए । यता जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेन्द्र चौधरीले अहिलेसम्म सबै भन्दा बढी घरको क्षतीको विवरण हेर्दा थलारा गाउँपालिकामा भएको बताए ।

उनका अनुसार थलारा गाउँपालिकामा हालसम्म आएको तथ्याङकमा थलारा गाउँपालिकामा ६७ घर भत्केको र १२ घर चर्केको, यस्तै जयपृथ्वी नगरपालिकामा २९ घर भत्केको ४८ घर चर्कीएको बुंगल नगरपालिकामा २ घर भत्केको २ घर चर्केको जानकारी दिए । यस्तै विथ्थडचिर गाउँपालिकामा १ घर भत्केको र १ घर चर्केको केदारस्युँमा १ घर भत्किएको छ ।

दुर्गाथलीमा ४ घर भत्केको र एक वटा चर्केको छविसपाथिभेरामा ७ घर भत्केको ४० चर्केको छ भने यता खप्तडछान्ना गाउँपालिकामा ३१ घर भत्केका ४० चर्केका, मष्टामा ३ वटा घर पुर्ण क्षती ५ घर भत्केको र १ घर चर्केको छ भने तलकोट गाउँपालिकामा ३ वटा घर भत्केको र ३ वटा घर चर्केको तथ्याङ आफुलाई उपलब्ध भएको बताए । यस्तै जिल्ला प्रहरी कार्यालयको पर्खाल र ईलाका प्रहरी कार्यालय देखी वडा प्रहरी कार्यालयका १२ वटा भवन चर्केका बताए । उनले आफुहरुले अहिलेपनी तथ्याङ संकलन गरी रहेको बताए ।

राजधानी दैनिक बाट