सरकारले चाडपर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसल सञ्चालनसम्बन्धी कार्ययोजना तयार गरी सहुलियत पसल सञ्चालन गर्न लागेको हो । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दसैँ, तिहार, छठ पर्वलाई लक्षित गरेर आगामी असोज २१ गतेदेखि सहुलियत पसल सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

सहुलियत पसलमा राखिने सामानमा उपभोक्तालाई दुई रुपियाँदेखि ५० रुपियाँसम्म छुट दिइएको उहाँले जानकारी दिनुभयो । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी उपभोग्य अत्यावश्यक खाद्यवस्तुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहज र सर्वसुलभ रूपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यका साथ सहुलियत पसल सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट्र टे«डिङ कर्पोरेसन  र दुग्ध विकास संस्थानमार्फत वितरण हुने दैनिक उपभोग्य सामानमा सहुलियत मूल्यमा वितरण गरिने छ ।   मन्त्रालयका अनुसार खाद्य कम्पनीबाट वितरण हुने सबै किसिमका चामल, दाल, गहुँ आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर, भटमासको तेल, चिउरा प्रतिकेजी/प्रतिलिटरमा सात रुपियाँ छुट दिइएको छ । यस्तै कर्णालीको सिमी/गेडागुडी, फापरको दाना, चिनो कागुनो र उवा प्रतिकेजीमा १० रुपियाँ छुटको व्यवस्था गरिएको छ । यस्तै साल्ट्र टे«ड्रिङ कर्पोरेसनबाट वितरण हुने नुन प्रतिकेजीमा दुई रुपियाँ, तेल र चिउरा प्रतिकेजी सात रुपियाँ छुटको व्यवस्था गरिएको छ ।

चिनीमा भने छुटको व्यवस्था गरिएको छैन । यस्तै दुग्ध विकास संस्थानले वितरण गर्ने घिउ प्रतिकेजीमा २० रुपियाँ, पनिर दुई सय ग्राममा २० रुपियाँ र पनिर पाँच सय ग्राममा ५० रुपियाँ छुटको व्यवस्था गरिएको छ । कर्पोरेसनले बजार मूल्यभन्दा सस्तो ९७ रुपियाँ प्रतिकेजीमा चिनी बिक्री गरेकाले छुट नदिएको मन्त्रालयले जनाएको छ ।

खाद्य कम्पनीको सहुलियत पसल काठमाडौँको थापाथली, रामशाहपथ, ललितपुरको नक्खु, भक्तपुरको सूर्यविनायक गरेर चार स्थानमा राखिने छ । यस्तै उपत्यकाबाहिरका ४२ जिल्लाका ४८ स्थानमा राखिने मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट्र टे«डिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन वटा घुम्ती पसलमार्फत सहुलियत पसल सञ्चालन गरिने छ । बाहिरी जिल्लामा रहेका बिक्री केन्द्रबाट समेत सहुलियत मूल्यमा खाद्यान्न वितरण गरिने छ । यस्तै दुग्ध विकास संस्थानले एकीकृत पसललगायत लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गरिने छ । यस्तै उपत्यकाबाहिर ११ स्थानबाट सुपथ मूल्यमा वितरण गरिने डिडिसीले जनाएको छ । चाडपर्वमा बजारमा दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा उपभोक्तालाई राहत दिन प्रत्येक वर्ष सुपथ मूल्यका पसल सञ्चालन हुने गर्छ । दैनिक उपभोग्य वस्तुको खपत धेरै हुने हुँदा निजी व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्न सक्ने हुँदा बजार मूल्य नियन्त्रण गर्न सरकारी संस्थानमार्फत सुपथ मूल्यका पसल सञ्चालन हुने गर्दछन् ।

सुपथ पसल सञ्चालन गरी उपभोक्तालाई छुटमा सामान वितरण गर्न खाद्य व्यवथा तथा व्यापार कम्पनी लिमिटेडलाई दुई करोेड ३२ लाख २० हजार र साल्ट्र टे«डिङ कर्पाेरेसनलाई एक करोड रुपियाँ बजेट व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । सहुलियत पसल आगामी मङ्सिर ३ गतेसम्म सञ्चालन गरिने छ ।गोरखापत्रबाट