चीन भ्रमणको संघारमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चीन सरकारले भेटबार्ताको उच्चस्तरीय चाँजोपाँजो मिलाएको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागि हुने क्रममा अमेरिकामा रहेका प्रधानमन्त्री प्रचण्ड ८ दिन लामो चीन भ्रमणमा निस्कँदैछन् ।  यस क्रममा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच दुईपटक भेटवार्ता हुने तय भएको छ। भेटवार्ता एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको सहर हाङ्जाओमा हुन लागेको हो। प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाट हङकङ ट्रान्जिट हुँदै शनिबार बिहान १० बजे हाङ्जाओ उत्रने छन्।  हाङ्जाओमा शनिबार चीनका राष्ट्रपति सीसँग प्रचण्डको लन्च बैठक राखिएको छ भने दिउँसो दुई नेताबीच औपचारिक भेटवार्ताको कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यसपछि प्रचण्ड चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने छन्।  चिनियाँ सहर हाङ्जाओमा आयोजित १९औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताको यही असोज ६ गते हुने उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट सीधै चीन पुग्दै छन्।  बेइजिङमा उनले चिनियाँ समकक्षी ली छिन, राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। मन्त्रालयका अनुसार प्रचण्डले बेइजिङका अलावा चोङकिङ सहर र तिब्बतको ल्हासा पनि भ्रमण गर्नेछन्। चोङकिङ महानगरले  कृषि र उद्योगको क्षेत्रमा गरेको विकास र प्रगतिको उनले अवलोकन गर्नेछन्।  प्रधानमन्त्रीको भ्रमण दलमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ रहनेछन्।