पोखरा । कास्की घर भए पनि गायिका समीक्षा अधिकारी गृह जिल्लाका सांगीतिक कार्यक्रममा कमै उपस्थित हुन्छिन् । किनकि, अहिलेकी चर्चित यी गायिकाको माग देशविदेश मात्र होइन समुद्रपारसम्म हुन्छ ।

आइतबार भने उनी रातो कुर्ता सलवारमा सजिएर लामाचौर तिज महोत्सवमा झुल्किइन् । माइक समाउँदै जब उनी स्टेज उक्लिइन् र भनिन्, ‘हेलो पोखरा ! आजको माहोल तताउनुपर्छ ।’

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरमा जारी २५औं संस्करणको लामाचौर तिज महोत्सवको दोस्रो दिन प्रमुख आकर्षण उनै गायिका समीक्षा बनिन् । उनका आधा दर्जनभन्दा बढी गीतका प्रस्तुतिमा दर्शक पनि उर्लिए ।

गत वर्ष खुबै चलेको ‘कुरा बुझ्नु पर्छ….’ बोलको तिज गीतमा त दर्शक छमछमी नाचेका थिए । गृह जिल्लामा खुलेर आफ्नो प्रस्तुति राख्दै उनी गाउँदागाउँदै दर्शकको भीडमा पनि पुग्थिन् । उनले ‘चट्ट कालो चस्मा…,’ ‘सूर्ति माड्दा–माड्दै गयो जोवान…,’ ‘हावा चिसो चिसो..’लगायत चर्चित गीत गाएर दर्शकलाई प्रशस्त मनोरञ्जन दिइन् ।

अभिनेता पल शाह बलात्कार प्रकरणका कारण गएका दुई वर्षसम्म मानसिक तनाव भोगेकी उनी लामो समय घरभित्रै खुम्चिइन् । पल रिहासँगै समीक्षा पनि दर्शकको मत जित्दै निम्तो पाएका विभिन्न सांगीतिक कार्यक्रममा सकेसम्म देखिने गरेकी छन् । उनी गत साता बुटवलका दर्शकलाई आफ्नो प्रस्तुतिमा नचाएकी थिइन् । समीक्षा मुद्दा मामिलामा पर्नुअघि लेखनाथ महोत्सवमा देखा परेकी थिइन् ।

यस्तै, १४ पुस, २०७८ मा पृथ्वीनारायण क्याम्पसमा आयोजित विद्यार्थी स्वागत कार्यक्रममा गायन प्रस्तुत गरेकी थिइन् । यसरी झन्डै दुई वर्षपछि मात्र पोखरामा आयोजित ठुला मेला महोत्सवमा समीक्षा देखा परेकी हुन् ।

कार्यक्रममा लोकदोहोरी गायक दीपक खड्का, चोलेन्द्र पौडेल, गायिका लक्ष्मी बानियाँ, सरस्वती लामिछाने पनि विभिन्न प्रस्तुतिमा महोत्सव हेर्न पुगेका दर्शकलाई मनोरञ्जन दिलाए । सोमबार लोकदोहोरी कलाकार चिज गुरुङ, बविता बानियाँ जेरी, लक्ष्मी मल्ल, दीपक खड्काले गीत गाउने प्रचार प्रयोजक दिनेश भण्डारीले बताए ।

महोत्सव अवसरमा आयोजित अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा लामाचौरको सरस्वती आदर्श विद्याश्रम प्रथम भएको छ । भाष्कर ममोरियल दोस्रो र वेसलाइन एकेडेमी तेस्रो भए । प्रथम, दोस्रो, तेस्रोले क्रमशः ४०, २५, १५ र ५ हजार प्राप्त गरे । महोत्सवको अर्को आकर्षण अन्तरमहिला समूहगत खुला तिज गीतमा प्रथमले ५० हजार प्राप्त गर्नेछन् । जसको फाइनल सोमबार हुनेछ ।

नवआदर्श सामुदायिक विकास समाज हरेक वर्ष तिजको बेलामा लामाचौरमा तिज महोत्सव सञ्चालन गर्दै आएको छ ।