काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले ६१ केजी सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रतिवेदनअनुसार सरकारी वकिल कार्यालयले प्रतिवादीसँग ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दर्ता गरेको छ । ब्रेकप्याडको भन्सारसमेत जोडेर थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो ३ अर्ब ५० करोड ३० लाख रुपैयाँ रहेको जिल्ला अदालतमा पेस भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । यो प्रकरणमा पक्राउ परेका मध्ये ६ जनालाई भने मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ ।

अभियोगपत्रमा प्रतिववादी बनाइएकामा कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल (कर्मचारी), पुष्करराज भट्ट, सन्तोष चन्द, (कर्मचारी) सरोज श्रेष्ठ (कर्मचारी), गणेशप्रसाद पौडेल (कर्मचारी), यादव पराजुली, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, सुदर्शन गौतम, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली (कर्मचारी), सुमन खरेल, शिवकुमार सर्राफ, विदेशी नागरिक तिब्बती मूलका भारतीय छिरिङ थुप्तिन, चिनियाँ नागरिक अली भनिने ली वेन सुङ, लिन जिक्वाङ, योङ वेन, मी तियान, स्टेप्स भन्ने ली नेङकाई, सरतेन भन्ने दिङ सेङफा, चिनियाँ मूलका बेल्जियन नागरिकद्वय एलेक्स भन्ने याओ फुचेङ र दावा छिरिङ छन् । उनीहरू अनुसन्धानका रूपमा पक्राउ परेका थिए ।

हाल फरार रहेका भोला साह (सोनार), जीवन चलाउने, सुन तस्करका नाइके दावा छिरिङकी पत्नी अमला रोकालाई पनि प्रतिवादी बनाइएको छ । प्रहरीले आरोपितमाथि बरामद भएबाहेक अरू सुन पनि तस्करी गरेको आरोप लगाएको थियो । आरोपपत्रअनुसार उनीहरूले ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेका छन् । सीआईबीले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन गत बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐनअन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरिएको छ । एकीकृत कसुर पुष्टि भएमा सबैभन्दा बढी सजाय हुने कसुरमा थप आधा सजायसमेत जोडिन्छ ।

राजस्व अनुसन्धान विभागले गत साउन ३ मा हङहङबाट ब्रेक सुमा लुकाएर ल्याइएको सुन एयरपोर्ट भन्सारबाट बाहिरिने क्रममा बरामद गरेको थियो । सो सुन तस्करीको विषयमा सीआईबीले अनुसन्धान पूरा गरेर बुधबार सरकारी वकिल कार्यालयमा आफ्नो रायसहितको प्रतिवेदन बुझाएको थियो ।

गोदामहरूमा छापा मार्दा अरू पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेकसुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), संगठित अपराध निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५, मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकिकृत कसुर, नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६, अध्यागमन ऐन २०४९ अनुसारको कसुरमा कारबाही गर्न राय दिइएको थियो ।

ब्रेक प्याड (सु) ल्याएको रेडी ट्रेडले मात्र २ साउनमा सिनामंगलबाट बरामद भएको ६० सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ । तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहले गरेको सीआईबीको निष्कर्ष थियो ।

सुन तस्करका अभियुक्त दावा तिब्बती शरणार्थीका रूपमा नेपाल प्रवेश
नेपालमा बसेर सुन तस्करी गर्दै आएका चिनियाँ मूलका बेल्जियन नागरिक दाबा छिरिङ तिब्बती शरणार्थीका रूपमा नेपाल प्रवेश गरेको पाइएको छ । सीआईबीको अनुसन्धानको क्रममा दाबाले आफू तिब्बती शरणार्थीका रूपमा नेपाल आएको खुलाएका छन् ।

दाबा स्वयंले पनि प्रहरीलाई दिएको बयानमा आफू १७ वर्षको उमेरमा सन् १९९९ मा तिब्बती शरणार्थीका रूपमा नेपाल आएको स्वीकार गरेका छन् । अनुसन्धानका क्रममा सीआईबीले दाबा तिब्बती शरणार्थीका रूपमा भित्रिएका व्यक्तिको निकट सम्पर्क भेटिएपछि अनुसन्धाको दायरा अघि बढाएको थियो ।

सीआईबीले दावालाई ‘तपाईं के–कुन प्रयोजन तथा उद्देश्यले कुन–कुन भिसामा कहिलेदेखि नेपाल आउनुभएको थियो ? नेपालमा कुन स्थानमा बस्दै आउनुभएको छ ?’ भनेर प्रश्न सोधेको थियो ।

जवाफमा दाबाले १७ वर्षको हुँदा शरणार्थीका रूपमा आएर स्वयम्भु क्याम्पमा बसेको र त्यसपछि भारत गएर १२ कक्षा पास गरेर बेल्जियम पुगेको उल्लेख गरेका छन् ।

सीआईबीले तपाईंको नेपालमा आम्दानीको स्रोत के हो ? भनेर प्रश्न गरेको छ । जसको जवाफमा उनले ‘सुरुमा मेरी श्रीमती अमला रोक्कामगर र मन्जिल श्रेष्ठले ५०–५० लाख रकम तिरी मासिक १० लाख रुपैयाँ रकम भाडा तिर्ने गरी सञ्चालन गर्दै आएको हो । सुरुमा लगानी गरेको ५० लाख रकमको स्रोत, मेरी श्रीमती अमला रोक्कामगरले जडिबुटीको कारोबार गरेर कमाएको रकम हो । मासिक भाडाबापत तिर्नुपर्ने रकम मासिकरूपमा होटलबाट कमाएको रकमबाट तिर्ने गरेका छौं’ भनेर दाबी गरेका छन् । तर, सुन तस्करीको अनुसन्धानपछि दाबाकी श्रीमती अमला फरार छिन् ।

सीआईबी बयानमा दाबाले भनेका छन्, ‘म तिब्बतमा जन्मिई करिब १७ वर्षको उमेरमा सन् १९९९ मा तिब्बतियन शरणार्थी भई नेपाल आएर स्वयम्भूको तिब्वतियन शरणार्थी क्याम्पमा बस्दै आइरहेकोमा तिब्बतियन शरणार्थी क्याम्पले भारतको हिमाञ्चल प्रदेशमा अध्ययनका लागि पठाएकोमा सन् २००३ मा १२ कक्षाको अध्ययन सकेर पुनः नेपालको स्वयम्भूमा कोठा खोजी बसी न्युरोडबाट ४०–५० जोर जुत्ता र जिन्स पाइन्ट खरिद गरी भारतमा गई भारतमा उक्त जुत्ता तथा पाइन्टहरू बिक्री गर्ने गरेको थिएँ,’ दाबाले बयानमा भनेका छन्, ‘पछि बौद्धमा गई तीन वर्ष बसेर जडिबुटी खरिद बिक्री गर्ने काम गरेको थिएँ । सोही क्रममा सन् २००९ मा अमला रोक्का मगरसँग भेट भई चिनजान भएपछि हामीले बिहे गर्ने भनी नयाँ बसपार्कको कोठामा बस्दै आएकोमा सन् २०११ मा म भारतमा गई भारतबाट शरणार्थीका रूपमा बेल्जियम गएको हुँ ।’

राजधानी दैनिक बाट