नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले वास्तविक लेखकहरुलाई प्रोत्साहन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
गोमा पराजुलीद्धारा लिखित आत्मसंस्मरण भीरको बाटो सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै कुलपति राइले लेखन विधा र क्षेत्र धेरै परिष्कृत भईसकेको अवस्थामा वास्तविक लेखकलाई प्रोत्साहन गर्नसके समाजको वास्तविक चित्र र चरित्र बाहिर ल्याउन सकिने बताउनुभएको हो ।
प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा बोल्नुहुँदै कुलपति राईले भीरको बाटो पुस्तक गोमा पराजुलीको जीवनमा आधारीत रहेपनि यसले समकालिन नेपाली समाजको वास्तविक चित्र र चरित्रमा मात्र नभई अहिलेपनि यस्ता धेरै घट्नाहरु समाजमा व्यप्त रहेको दावी गर्नुभयो ।
नयाँ लेखक र समाजका वास्तविक कुराहरुलाई उजागर गर्नेहरुलाई प्रज्ञा पतिष्ठानले सदैव खुल्ला ह्ृदयका साथ स्वागत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । तत्कालिन समयमा गोमा पराजुलीले परिवार र समाजबाट व्यहोर्नुपरेको पिडा र गरेको संघर्षबाट प्राप्त सफलता अरुका लागि पनि प्रेणाको श्रोत हुने बताउनुभयो ।
यसैगरी कार्यक्रममा पूर्व सचिव तथा सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले पुस्तकले नेपाली समाजको जीवन्त तश्विरलाई उतारेको बताउनुभयो । एकजना पात्रले भोग्नुभएको भोगाईलाई पुस्तकका रुपमा सार्वजनिक गरेर समग्र समाजको दृश्य देखाएको बताउनुभयो । उहाँले जीवनमा सबै सकिँदा पनि केही गर्न सम्भव छ भन्ने उदाहरण लेखक पराजुलीले पुस्तक मार्फत प्रस्तुत गरेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै सञ्चारीका समुह नेपालकी अध्यक्ष विमला तुम्खेवाले गोमा पराजुलीले भोगेको जीवन भोग्ने महिलाहरु अहिलेपनि समाजमा रहेको बताउनुभयो । उहाँले महिलाहरुको जीवन असहज अवस्थामा अगाडि बढिरहेको स्मरण गराउँदै समयसंगै मानिसहरुको सोच अझै परिवर्तन गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । समाजिक रुपान्तरणका लागि गोमा पराजुलीले गर्नुभएको अठोट, प्रतिवद्धता र निरन्तरको प्रयासले भीरको बाटो पुस्तक बनेको स्मरण गर्दै यसले सकारात्मक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । महिलाहरुको जीवनमा आईपर्ने हरेक असहजता, अप्ठ्याराहरुलाई पार गर्दै गोमा पराजुलीले आफुलाई एक सफल र सक्षम महिलाका रुपमा स्थापित गर्नुभएको बताउनुभयो ।
भीरको बाटो पुस्तककी लेखक गोमा पराजुलीले आफु ५० वर्षको भएपछि कक्षा १ मा भर्ना भई कक्षा ७ सम्म अध्यायन गरी आफै आफ्नो जीवनको संघर्षको कथा सार्वजनिक गर्नुभएको हो । उहाँले आफ्नो माईतिघरमा रहँदाको छोरीलाई गरिने व्यवहार, पठनपाठनमा हुने विभेदका बारेमा लेख्नुभएको छ । यसैगरी विवाह पश्चात सासु ससुरा, श्रीमान, घरपरिवार र समाजबाट गरिएको व्यवहार त्यसपश्चात उहाँले पोखरामा गर्नुभएको संघर्ष लगायतका कुराहरुलाई समेट्नुभएको छ ।