सत्तारुढ नेपाली काँग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताएका हुन्।

आइतवार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गरे।

काँग्रेस संसदीय दलको बैठक भोली पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राखेको सुझावहरुलाई समेटेर महत्वपूर्ण प्रस्तावहरु पारित गर्ने पनि बताए। गत शुक्रवार र आज बसेको काँग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए।

प्रमुख सचेतक लेखकले भने, ‘नेपाली काँग्रेस संसदीय दलको बैठक निरन्तर चलिराखेको छ। अस्ती र आज गरेर जम्मा ५० जना साथीहरुले बोल्नुभएको छ। अनि, आज पनि बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि ११ बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौं। र, साथीभाईहरुबाट जे पनि भावनाहरु, विचारहरु अभिव्यक्त भएका छन। ती सबैलाई समेटेर हामी भोली संसदीय दलको बैठकबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्छौं। र, हाम्रो बैठक भोलि समापन हुन्छ। बैठकमा धेरै विषयमा कुरा उठेको छ। अनि ती सबै विषयहरुलाई हामीले समेटेर भोलि महत्वपूर्ण प्रस्ताव पारित गर्छौं। अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ। यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन।’नागरिक दैनिक बाट