काठमाडौं । बेल्जियम र काभ्रेको नागरिकता प्राप्त गरेका चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेसँगै टोखाको कृषि फार्ममा छापा मारिएपछि सय किलो सुन काण्डले राजनीतिक रंग बोक्न थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नै सयौं किलो सुन तस्करी भई विभिन्न ठाउँमा गाल्दै प्रशोधन गर्दै भारत र नेपालका बजारमा बिक्री वितरण गरेको र त्यसमा राजनीतिक संरक्षण रहेको पाउनथालिएको हो ।

राजनीतिक संरक्षण प्राप्त भएको पुष्टि हुनथालेपछि सांसदहरू संसद् बन्द गर्दै आरोप प्रत्यारोपमा उत्रिएका छन् । माओवादी केन्द्रका नेताले एमालेमाथि आरोप लगाउने र एमाले नेताले सत्ताधारी दलहरूमाथि आरोप लगाउनेक्रम बढेको छ ।

थप ४ चिनियाँ नागरिक अनुसन्धानको घेरामा

एमालेले सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको संलग्नता रहेको बताइरहँदा माओवादीहरू भने झापाको गिरिबन्धु टि स्टेटको जग्गा काण्डका मतियारको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।

एमालेले उच्चस्तरीय राजनीतिक छानबिन समिति बनाउनुपर्ने माग गरिरहँदा माओवादी नेताहरू अहिले आवश्यक नभएको भन्दै आफ्ना नेता बचाउन खोजिरहेका छन् । यता, एमाले नेताहरूले भने समिति बनाएर आफ्ना नेताको संरक्षण गर्न संसद् नै बन्द गरेर समितिको माग गरिरहेको आशंका सार्वजनिक वृत्तमा गर्न थालिएको छ ।

राजस्व अनुसन्धान विभागले भने सुन प्रकरणमा पक्राउ परेका १८ जनालाई सोधपुछ गर्दै नयाँनयाँ फन्दा पत्ता लगाइरहेको छ । अनुसन्धान टोलीले हालसम्म राजनीतिक व्यक्तिहरूको संलग्नता पत्ता नलागेको र संरक्षण भए नभएको विषयमा खोजीनीति जारी नै रहेको बताएको छ । विभागले तिब्बती मूलका बेल्जियम नागरिक दावा छिरिङको संलग्नता अधिकतम् रहेको सम्म पत्ता लगाएको छ ।

उनको ठमेलको होटलमा छापा मार्दा बरामद भएका विभिन्न कागजपत्र, कारोबारका कागजात आदिको विश्लेषणका आधारमा दावा नै प्रमुख व्यक्ति हो कि भन्ने संकेत मिलेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

उनको नै प्रमुख लगानी हो कि होइन भन्ने अनुसन्धान जारी नै रहेको र हालसम्मको अनुसन्धानले १८ जनामध्ये सबैभन्दा पहिलो तहमा उनी रहेको उनको भनाइ छ । उनीसँग सम्पर्कमा रहेका र उनलाई सम्पर्क गरेका व्यक्तिहरू अनुसन्धानको दायरामा तान्नका लागि कागजी प्रक्रिया मिलाउन थालिएको पनि उनले जानकारी दिए । अनुसन्धानकै सिलसिलामा विभागले बरामद गरेका मोबाइलको ‘डेटा रिकभरी’का लागि नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको र मोबाइलको कल डिटेल्स पनि विभागले प्राप्त गरिसकेको बताइएको छ ।

फोन रिकभरी गर्दा अन्य थप चार जना चिनियाँ नागरिकको पनि संलग्नता रहेको पाएको बताइएको छ । ती चार जनालाई आज (बिहीबार)सम्ममा पक्राउ गर्ने तयारी विभागको रहेको छ ।

विभागले अहिलेसम्म चिनियाँ नागरिक चुवाङ लिनलाई पक्राउ गरेर विभिन्न ठाउँमा छापा मारिसकेको छ । विभागले धुम्बाराहीस्थित पीपलबोटमा दुईवटा, मण्डिखाटार, लाजिम्पाट र धापासीमा एक–एकवटा गरी कुल पाँचवटा घरमा छापा मारिसकेको छ । त्यसबाहेक सोह्रखुट्टे र टोखास्थित गोदाममा पनि विभागले छापा मारेको थियो ।

रेडी ट्रेडर्सका सञ्चालक २१ वर्षे दीलिपकुमार भुजेल, उनका मामा रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई र ट्याक्सी चालक अशोक लामासँग सुरुमा बयान लिँदा नै ती व्यक्ति भरिया मात्र भएको आधार विभागले पाएको थियो ।

तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक चुवाङ लिन, कार्गो कम्पनी सञ्चालकहरू राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट पक्राउ परेपछि भने नयाँनयाँ फन्दा पत्ता लाग्दै आएको थियो ।

विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ, जाँचकी कुमार ढकाल र भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम तथा रुक्मिणी सुब्बा पक्राउबाट भने थप व्यक्तिहरू पक्राउ गर्न ठोस प्रमाण बटुल्न सकेको छैन ।

चिनियाँ नागरिकलाई भाडामा गोदाम खोजिदिने सन्तोष तामाङ र दावा छिरिङ पक्राउ परेपछि भने सुन काण्डको जालो विशाल रहेको पाइएको थियो ।

यसैगरी, रेडी ट्रेडर्स प्रालिका नाममा आयात गरिएका जस्तै ब्रेक सु, सेभर तथा घडीहरू दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिको नाममा पनि आयात हुने गरेको अनुसन्धानबाट खुलेको छ । सुन तस्करीमा संलग्न रहेका भनिएका राजेश अडुकियालाई भने विभागको टोलीले समयमै पक्राउ गर्न नसकेको भन्दै आलोचना हँुदै आइरहेको छ । यस प्रकरणमा सुरुमै मुछिएको हुनसक्ने आधार हुँदाहँुदै पनि विभागको टोलीले घटना घटेको एक सातापछि मात्रै अडुकियाको घरमा छापा मारेको थियो । त्यतिबेलासम्म अडुकिया बेपत्ता भइसकेका पाइएको छ । अडुकियालाई सरकारी पक्षले नै भगाएको हुनसक्ने आरोप लागेको छ ।

यसैबिच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफै सुन तस्करीमा मुछिएको आरोप लगाएका छन् । २६औं स्मृति दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै आफै मुछिएकाले समिति बनाउन नमानेको बताए । मजदुरी गर्न विदेश गएका श्रमिकले १० वर्षपछि आमालाई ल्याइदिएको सिक्री एयरपोर्टबाटै खोसेर लाने सरकारले दैनिक एक क्विन्टल सुन तस्करी गराइरहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ भने अस्वस्थ भएर अहिले सार्वजनिक रूपमा देखिन छाडेका छन् । तर, यति ठूलो तस्करीको अनुसन्धान प्रहरीलाई गर्न नदिइ प्रधानमन्त्री मातहतको राजस्व अनुसन्धान विभागलाई नै सबै जिम्मा दिइएकामा गृह प्रशासनमाथि नै प्रश्न उठाउन थालिएको छ ।

अनुसन्धानमा प्रहरीलाई जिम्मा लगाउँदा माओवादी नेताहरूको कनेक्सन बाहिर आउने आशंकाले गर्दा प्रधानमन्त्रीकै चाहनामा प्रहरीलाई बाहिरी घेरामा राखिएको आरोप पनि लाग्ने गरेको छ ।

सिआइबीले केही समयअघि भेपमा ल्याइएको ९ किलो सुनको अनुसन्धान गर्दा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोराको संलग्नता देखिएपछि एक क्विन्टल सुनको अनुसन्धानमा प्रहरीलाई बाइपास गरिएको आशंका छ ।

राजधानी दैनिक बाट