रवि लामिछानेको गृहमन्त्री पद गुम्ने, जुनसुकै बेला पक्राउ पर्न सक्ने

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको सांसद पद नरहने फैसला गरेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता प्राप्ति र अमेरिकी राहदानीका सम्बन्धमा परेको रिटमाथि आज सुनुवाइ गर्दै सांसद पद खारेज गरेको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजसालले उक्त निर्णय सुनाएको हो ।
आजको फैसलासँगै उनको मन्त्री पद स्वतः बदर भएको छ । नेपालको मन्त्री हुन नेपाली नागरिकता हुनु अनिवार्य छ । उनको नागरिकता नै नरहेको ठहर भएपछि मन्त्री पद स्वतः गएको हो ।
त्यस्तै रवि जुनसुकै बेला पक्राउ पनि पर्न सक्छ । नागरिकता विवाद प्रकरणमा रवि लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो । लामिछानेले एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । लामिछानेले ५ मार्च २०१४ मा अमेरिकी नागरिकका रुपमा पासपोर्ट बनाई नेपाल आएपछि अमेरिकी पासपोर्ट र नागरिकता त्याग नगरी २७ मे २०१५ मा नेपालबाटै अर्को नागरिकता बनाएका थिए । सोही सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।