काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेल २७ रनले जितेको छ । जितसँगै नेपालले पाँच खेलको सिरिजमा दुई-एकको अग्रता लिएको छ ।

युकेयम ओभलमा घरेलु टोली मलेसियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनायो । पहिलो विकेटका रुपमा नेपालले कविता कुँवरलाई मात्र २ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि ज्योति पाण्डेले सीता राना मगरसँग ३५ रनको साझेदारी निभाउँदै आउट भइन् । उनले २३ रन जोडिन् ।

तेस्रो विकेटका लागि सीता र इन्दु बर्माबीच ३२ रनको साझेदारी भयो । सीता २१ रनमा आउट भएपछि साझेदारी तोडिएको थियो । इन्दुले २० रन बनाइन् । कप्तान रुबिना क्षेत्री १५ बलमा २७ रन जोड्दै आउट भइन् । उनले तीन चौका र एक छक्का हिर्काएकी थिइन् ।