काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्ने अनुमति दिएको छ ।

आज प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो । सोहीअनुरुप अदालतले म्याद दिएको हो ।

अदालतका सूचना अधिकारी दीपक दाहालले अनुसन्धानका लागि रायमाझीलाई ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको जानकारी दिए ।

उक्त प्रकरणमा वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौँको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीसहित पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँणणलगायत १३ जना पक्राउ परिसकेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।