कपन क्षेत्रमा डु्बानको समस्या रहेकामा समाधान र व्यवस्थापनका लागि के गर्न सकिन्छ भनेर अध्ययन भइरहेको आयोजनाका इञ्जिनियर सज्जन कुँवरले जानकारी दिए । उनले भने, ‘नामाकरण भएर परामर्शदातामार्फत अध्ययन सुरु भइसकेको छ अध्ययनको निष्कर्षका आधारमा आवश्यक संरचना बनाउनुपर्ने छ ।’

त्यस क्षेत्रमा डुबानका कारण ढलको क्षमता नपुगेर हो भने त्यसको समाधान गरिने इञ्जिनियर कुँवरले बताए । ‘रिचार्ज वेल’, ‘रेन वाटर हारवेष्ट’ लगायत कुन उपाय अवलम्वन गरेर डुबान न्यूनिकरण हुनसक्छ त्यो गरिने उनको भनाइ छ । उनले भने, ‘आवश्यक हुँदा सडक निर्माण पनि हुनसक्छ ।’

कपन–बुढानिलकण्ठ क्षेत्रमा अध्ययन सुरु भए पनि आवश्यक निर्माणको काम आगामी आर्थिक वर्षमा मात्रै हुने आयोजनाले जनाएको छ । चालू आवमा निर्माणका लागि बजेट बिनियोजन भइसकेको छैन । गत असोज महिनामा निर्णय भएपछि अहिले अध्ययन अघि बढाइएको हो । आगामी आर्थिक वर्षमा बजेट बिनियोजन भएपछि काम सुरु हुने उनको भनाइ छ । शङ्खमुलको दोभानबाट कपनसम्म धोबीखोलाको दुवैतर्फ करिडोर निर्माण गर्ने गरी सुरु भएको आयोजनाको कार्यक्षेत्र बिस्तार गरिएको हो । करिडोर निर्माण सकिँदै गर्दा कपन क्षेत्रको डुबानको समस्या समाधानको काम सोही आयोजनामार्फत अघि बढाउन लागिएको हो ।

उपत्यकाको मुख्य सडकको सवारी चाप व्यवस्थापन गर्ने उद्देश्ययले काठमाडौं महानगरपालिकाले २०५९ साल वैशाखमा धोबीखोला करिडोरको निर्माण सुरु गरेको थियो । विसं २०६४ पुसदेखि प्राधिकरण (तत्कालिन काठमाडौं उपत्यका नगर विकास समिति) ले निर्माण गर्दै आइरहेको छ ।

शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले सो करिडोरका विषयमा चासो देखाएर स्थलगत निरीक्षण गर्दै आएका छन् । पहिले झण्डै २४ किमी सडक निर्माण गर्ने गरी योजना सुरु भए पनि पछिल्लो समयमा कार्यक्षेत्र बिस्तार गरिएको छ ।