उपन्यास एक्लो

डि.आर.

बाँच्नु मात्र होइन, आफूलाई रच्नु पनि जिन्दगी हो ।

उज्ज्वल भविष्यको कल्पना पनि एउटा ऊर्जा हो । असन्तोष नै प्रगतिको संवाहक बनेपछि अन्वेषक एकपछि अर्को आविष्कारतिर र साहित्यकार नयाँ, अझ झन् नयाँ सिर्जनातिर लाग्नु नेपाली साहित्यको उज्यालो पक्ष हो । गाउँबाट सहरतिर, स्कुल पढ्नेहरू क्याम्पसतिर । ट्याक्सी चलाक मालिक बन्ने दौडतिर । अँध्यारो कोठाबाट फराकिलो फ्ल्याटको बसाइतिर । १० ब्यान्डको रेडियोबाट टिभीको च्यानलसम्म ।

पीसीओ फोनबाट पेजर हुँदै मोबाइलको स्क्रिनसम्म । गल्लीको चिया पसलबाट कली क्याफेमा सिंगल सट हान्नेदेखि शुद्घाशुद्घिबाट सम्पादकतिरको सोचाइ पनि प्रगतिको भ-याङ बन्न सक्छ । उच्च शिक्षाका लागि सहर पसेकाले संघर्षभित्र अनेक विकल्प खोजिरहेका हुन्छन् । गाउँबाट सहर, त्यसपछि विदेशतिर विलय हुने परिपाटीले देशलाई भुमरीतिर घकेलिरहेको छ । यस्ता दुष्चक्रलाई रोक्न राज्यको ध्यान नगए तापनि साहित्यकारले सम्भावनाका प्रशस्त मार्गहरू सिर्जना गरेर सकारात्मक सन्देश दिइरहेका हुन्छन् । ‘एक्लो’ उपन्यास पल्टाउँदा त्यस्तै संकेत गरेको महसुस हुन्छ ।

‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ले घुमाएर ‘एक्लो’ बनाएको लेखक अब एक्ला होइनन्, सबैका साझा हुन् । लेखक ‘एक्लो’भित्र अनेक प्रस्तुति, अनेक विचार, अनेक कर्म, अनेक रंग, अनेक प्रसंग, अनेक भाव, अनेक सन्दर्भ, अनेक शैली र अनेक पात्रमार्फत हरेक पाठकलाई एउटै डोरीले बाँध्न सफल भएका छन् । त्यो लेखनशैली प्रशंसनीय हुने कुरामा दुई मत नहोला । तर, पुस्तकको सारतत्वलाई बुझ्ने र हेर्ने दृष्टिकोण अनि ग्रहण गर्ने क्षमता भने आआफ्नै हुन सक्छ । यस उपन्यासले आमपाठकवर्गलाई दिन खोजेका कुरा मैले यति लेखेर करिब ५ सय पेजको उपहास गरेजस्तो होला । हुन चाहिँ जनयुद्घका समयको छायामा अल्मलिँदै कथानक प्रस्तुतिको उठान र बैठान गरेको पाइन्छ । मूल पात्र सिरीले काठमाडौंमा भोगेका हरेक गतिविधिलाई मजाले गोडमेल गरेका छन् उपन्यासकारले । जहाँ रंगीबिरंगी फूलमाझ पुतलीझैं रमाउन र आनन्द लिन सकिन्छ ।

भविष्य बोकेर सहर पसेको सिरीले भोगेका अनेक अप्ठ्यारा, विद्यार्थी जीवन, ड्राइभरको संगत, घरको भर, रेडियोको साथ, समिराको आस अनि टुक्रे जागिरबाट बाँचेको योजनाविहीन जिन्दगीको जोड घटाउ हो एक्लो उपन्यास । गाउँ बस्तीको सामान्य तानतुने पढाइ सिकाइले काठमाडौंको पढाइसँग भनेजस्तो मेल नखाएपछिको अन्योलग्रस्त जीवन । गाउँको दूरदराजमा पढ्ने पाठ र सहरबजारमा पढ्ने पाठ, धनी र गरिबले पढ्नेपुस्तक अनि सामुदायिक र प्राइभेटमा पढाइने फरकफरकस्तरको शिक्षा पद्घतिलाई सिरीको पढाइमार्फत देखाउन खोजिएको हो कि, मेरो अनुमान । यस्ता विभेदकारी शिक्षाको समाचारभन्दा पनि समीरा र नीललाई सुनाइरहन्छ १० ब्यान्डको कालो रेडियोले ।

काठमाडौं खाल्टोमा रुमलिइरहेको सिरी, कलेजका साथीभन्दा डेरा आसपासका साथीभाइसँग नजिक देखिन्छ । दुःख सुख आफ्नै पोल्टामा भए पनि गेस पेपरको भरमा पढ्ने, अर्को कोठामा बस्ने सूर्यबहादुरको ड्राइभर पेसा, घरबेटी र भाडावालको आआफ्नै बाध्यता, आदिको बाइक र रिल, टोपसँगको भेट र जागिर, बीए पढेको ढाडस, गाउँबाट खर्च नआउँदाको टीटी अनि संगत र काम व्यवहारको बेलीविस्तारले लामै मेलो जोतेको भेटिन्छ, औपन्यासिक गरामा । तर, बारी खासै राँटो राखेको भेटिन्न । सामान्य प्रसंगलाई पनि फूलबुट्टा भरेर सजाउने लेखन शिल्पीले जोकोहीलाई एक्लोभित्र समाहित गर्न सक्छ । ट्याक्सी चलाएर जीविकोपार्जन गर्ने सूर्यबहादुरले बेलाबेला सिरीलाई पनि साथमा लानु बाध्यता थियो । राति ट्याक्सी चलाउँदा ठगिने, लुटिने र ज्यानसमेत जाने अप्रिय घटनाबाट जोगिन राज्यले के–कस्तो सुरक्षा दिएका छन् त श्रमजीवीलाई ? यस्ता प्रश्न मात्र उठाएको छैन राति हुने कुकर्म, यौनधन्दा र भूतप्रेत किच्कन्नीसमेतको कल्पना गर्न भ्याएका छन् । सानो र अँध्यारो कोठाको शून्यतालाई चिर्न समिराको आवाज सुनाउने रेडियोले श्रम गर्नेको सुरक्षा ग्यारेन्टी र बेतिथिको कुरा कहिल्यै सुनाएन ।

कथाले आफ्नो लक्ष्य प्राप्तिका लागि अनामनगर, घट्टेकुलो, बागबजार, मैतीदेवी, ठमेल, पतलीसडकको सेरोफेरोमा फन्फनी घुमाइरहन्छ । अनेक पात्रलाई विधागत रूपमा खेलाउन सक्ने खप्पिस लेखकले कुन पात्रलाई कस्तो भूमिका दिने र कस्तो परिस्थितिमा कस्तो संवाद गराउने भन्ने कुरालाई केन्द्रमा राखेको छ भने बोलिचालीका ठेट शब्द प्रयोग गरेर मौलिकपनलाई स्थापित गरेको पाइन्छ । शब्दचयन, प्रतीक, बिम्ब, प्रतिबिम्बको मनग्गे प्रयोगले वाक्यांश यस्तो माझिएको छ कि सोकेसमा सजाइएको मालसामान टल्किरहेजस्तो । साना होस् या ठूला, कोठा होस् या अफिस, ट्वाइलेट होस् या किचेन, सुन्दर होस् या कुरुप, कटेरा होस् या कली क्याफे । जेजस्तो छ, त्यहाँको वस्तुस्थिति’bout रेसारेसाको वर्णन र मिहीन व्याख्याले मनै छुने मात्र होइन हँसाउने, रुवाउने र आनन्द दिने गर्छ । त्यो लेखकको दरिलो पक्ष लाग्यो ।

कोठाभाडा नतिरेपछि ‘फुच्चे तालामाथि अर्को ठूलो र भद्दा तालाले बुइँ चढेको । तिम्रो त्यो अँध्यारो कोठा त लामखुट्टेले पनि पत्ता लगाउन सक्दैन हौ ।’ यस्ता प्रतीककात्मक भनाइ उदाहरण मात्र हान । गाउँमा बुवाले हत्केलाको ठेलामा नोट उमारेर छोरालाई काठमाडौं पठाएको मार्मिक कथाले कताकता निचोर्छ । आमा छोराको फोनवार्ता सुन्दा सुदूर गाउँको घर आँगनको डिलमा बसेर बात मारिरहेको आभास दिलाउँछ । लोग्नेलाई थाहै नदिई खाई नखाई आमाले छोरालाई सहरमा खर्च पठाएको प्रसंग ।

धेरै समयपछि आमा छोराको फोन वार्तामा मातृत्व भावले छचल्काएका छिटामा आफ्नै आमाको तस्बिर देख्न सकिन्छ । ग्रामीण बस्तीबाट पीसीओमा पालो कुर्दै सन्चोबिसन्चोको खबर पठाउन पनि कहिलेकाहीँ दोहोरो चपेटामा पर्ने । जनयुद्घको त्रास र राज्यको शंकालु खानतलास, सिरीले रेडियो किन्दा साहुजीले शंका गर्दै ‘माओवादीले पनि यस्तै रेडियो सुन्छ’ भनेका थिए । छापामारले फोनको टावर उडाउने अर्कोले टाउकाको मूल्य तोक्ने तर समाधानको कुरा कहिल्यै भनेन रेडियोले, केवल समिराको मधुर आवाज मात्र ।

आईएसम्म पढेका सिरीले देशप्रेम साप्ताहिकमा शुद्घाशुद्घि हेर्ने जागिर पाएपछि प्रेसकार्ड बोकेर समिरा हिँड्ने गौंडाहरू पहिल्याउन थाले । उपन्यासकारले सिरीलाई समिराको एकतर्फी मायामा यस्तो गज्जबले डुबाएको छ कि त्यो गहिराइबाट माथि उत्रन अन्तिमसम्म कोसिस गरिरहेको हुन्छ । एउटा उमेरले यस्तो दिन पनि ल्याउने रहेछ, जसले कुनै रूप रङ या भौतिक शरीरको उपस्थितिबिनै तिनको स्वर सुनेर पे्रममा पागल हुने दृष्टान्त दिन खोजिएको छ ।

एकातिर १० ब्यान्डको कालो रेडियो र सिरी, अर्कोतिर समिरा र नील । रेडियोमा हुने कुराकानी सुन्दा सुन्दै सिरीले समिरालाई मन मुटुमा सजाइसकेको हुन्छ । नीलको ठाउँमा आफूलाई उभ्याएर जीन्दगीको यात्रामा कहिले कहाँ त कहिले कता पुग्ने सिरीको प्रेम कहानीले पाठकलाई तानिरहन्छ । समिरालाई कली क्याफेमा फ्याट्ट भेटिन्छ कि भनेर बारम्बार पुग्ने गर्छ तर निराशाका छाया मात्र । पहिला भोकले टाट पल्टिँदा बाटोमा कतै पैसा पो भेट्छु कि भनेर घोप्टिएर हिँड्ने सिरीले समिरालाई नभेटेपछि क्याफेको वेटरलाई राम्रै टिप्स दियो, निगरानी गरिदिने सर्तमा । समिरालाई मन पर्ने पुस्तक द गुड अर्थ च्यापेर सिरीले शब्दकोश पल्टाउँदै जबरजस्ती पढ्नुको पछाडि समिरालाई भेट्ने तीव्र चाहनाको उपज थियो । द गुड अर्थलाई साक्षी राखेर प्रेम प्रस्ताव अघि बढाउने काल्पनिक लालसा बहुत चाखलाग्दो छ यो उपन्यासभित्र ।

सग्रहमा एक्लो उपन्यासले रोमाञ्चक र आसलाग्दो सन्देश बोकेर हिँडे पनि अन्यतिर मुख्य पात्र सिरीले नयाँ कोठा सर्नुबाहेक खासै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकेन । सहायक पात्र नैराश्यको सिकार हुँदा गौण पात्र झन् त्यसै बिलाए । तर, पनि घटना परिघटनालाई लेखनकलाको फरक धार र भाष्यचेतको सही प्रयोगले उपन्यास पठनीय बनेको छ । कुनै प्रसंग लेखकको आफ्नै भोगाइ पो हो कि भन्ने पनि लाग्छ । कताकता वस्तुपरक, यथार्थपरकजस्तो लागे पनि स्वरैकल्पनाले अन्तै पु¥याउँदा यता सत्यघटनाको अतीतले अलमलमा पार्छ । दरबार हत्यकाण्डसँगै देशपे्रम साप्ताहिक बन्द भएपछि टोपले वैरागीको बाटो रोज्छ ।

सूर्यबहादुर र चन्दा गाउँ फर्किंदा मोहिनी कता गई । आदिलाई बसको टायरले रिलसँगै बेरेर कच्याककुचुक पारे । सिरी र समिराको सम्बन्ध कल्पनामै सीमित भएजस्तै बेलाबेला तसाउने माओवादी प्रसंगले अन्तै कथा मोडिने हो कि त्रासमा परिन्छ । सिरीलाई कसैले भाइ, कसैले दाइ, बाबु, केटा भनी बोलाउँदा आफू एक्लो भएको ठान्ने, साथीहरूको प्रगतिले उचाइ चुमेपछि आफू एक्लो भएको, काठमाडौंमा पैसा नहुँदा र कसैले कसैलाई मतलब नगर्ने सहरले जन्मिएको हो त एक्लो । एकपल्ट परिवारसँग झुट बोले पनि सिरीलाई इमानदार आदर्श पात्रका रूपमा देखाइएको छ ।

छालाको बुन्दुक र यौवनको नांगो शब्द बेचेर मालामाल बन्ने टोपको सल्लाहमा लागेन सिरी । घरबेटीले कोठामा अर्को ताला लगाउँदा पनि विद्रोह गरेन बरु मन्दिरको कटेरामा भोकभोकै रात बिताए । अन्तिममा समिरालाई नभेट्दा पनि बहुलाएन बरु सामान्य अवस्थामा रहेर अर्को राम्रो कोठामा बसाइँ सरे । लेखकले यस्ता उपयुक्त विषयवस्तुलाई महासागरबाट निकालेर भावसागरमा घोलेर बुद्घिसागरको एक्लो भाँडोमा पकाएका छन् । मिठो, नमिठो वा स्वादिष्ट त्यो स्वाद पाठकको जिम्मामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *